जनता टाइम्स

१५ असार २०८३, सोमबार २०:१९

किसान र सुकुमवासीप्रति सरकार अनुदार रहेको प्रदीप पौडेलको आरोप


काठमाडौं, असार १५ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले वर्तमान सरकार किसान र सुकुमवासीका समस्याप्रति अनुदार देखिएको आरोप लगाउनुभएको छ।

राष्ट्रिय धान दिवसका अवसरमा सोमबार रौतहटमा आयोजित कार्यक्रममा बोल्दै महामन्त्री पौडेलले सरकारले किसानका समस्या समाधानका लागि बजेटमा प्रभावकारी कार्यक्रम समावेश नगरेको दाबी गर्नुभयो।

उहाँले किसानहरूले अथक मेहनतमार्फत देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्‍याइरहेको उल्लेख गर्दै समयमै मल र गुणस्तरीय बीउबिजन उपलब्ध नहुँदा उनीहरू आफ्नो क्षमता र जमिनको उत्पादनशीलताअनुसार खेती गर्न नसकेको बताउनुभयो।

“किसानहरूले देशको अर्थतन्त्रमा ठूलो योगदान दिइरहनुभएको छ। तर समयमै मल र उपयुक्त बीउबिजन नपाउँदा उहाँहरूले अपेक्षित उत्पादन गर्न सक्नुभएको छैन,” उहाँले भन्नुभयो।

महामन्त्री पौडेलले नेपाली कांग्रेस नेतृत्वको अघिल्लो सरकारले किसानको हितमा विभिन्न काम गरेको दाबी गर्दै सबै समस्या अपेक्षाअनुसार समाधान गर्न भने नसकिएको स्वीकार गर्नुभयो।

उहाँले किसानका समस्या दीर्घकालीन रूपमा समाधान गर्न प्रभावकारी नीति, पर्याप्त बजेट र समयमै कृषि सामग्रीको उपलब्धता सुनिश्चित गर्न सरकार गम्भीर हुनुपर्नेमा जोड दिनुभयो।