जनता टाइम्स

१५ असार २०८३, सोमबार २१:२७

प्रचण्डको दाबी– वर्तमान सरकार धेरै समय टिक्दैन


काठमाडौं, १५ असार । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार धेरै समय नटिक्ने दाबी गर्नुभएको छ।

सोमबार बसेको पार्टीको केन्द्रीय कमिटीको भर्चुअल बैठकलाई सम्बोधन गर्दै उहाँले सरकारका कामकारबाही सन्तोषजनक नरहेको भन्दै वर्तमान सरकार लामो समयसम्म टिक्ने अवस्था नदेखिएको बताउनुभयो।

बैठकमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार प्रचण्डले राष्ट्रियता, आधारभूत वर्ग तथा जनजीविकासँग सम्बन्धित विषयमा सरकारले सही ढंगले काम गर्न नसकेको टिप्पणी गर्नुभएको थियो।

“राष्ट्रियता र आधारभूत वर्गका विषयमा सरकारले गरेका कामहरू सही दिशामा छैनन्। त्यसैले वामपन्थी तथा लोकतान्त्रिक शक्तिबीच सहकार्यको वातावरण निर्माण गर्न आवश्यक छ,” उहाँले भन्नुभएको थियो।

उहाँले सरकारका हालसम्मका गतिविधिको समीक्षा गर्दै वर्तमान सरकार धेरै समय टिक्न नसक्ने दाबी पनि गर्नुभयो।

करिब ४५ मिनेट सम्बोधन गर्नुभएका प्रचण्डले समसामयिक राजनीतिक परिस्थिति, पार्टीको आगामी महाधिवेशनको तयारी तथा संगठनात्मक विषयमा समेत धारणा राख्नुभएको थियो।

बैठकमा नेकपाका सहसंयोजक माधवकुमार नेपालले पनि सम्बोधन गर्दै सरकारका कामकारबाही प्रभावकारी हुन नसकेको टिप्पणी गर्नुभएको बताइएको छ।