जनता टाइम्स

१६ असार २०८३, मंगलवार ०७:३१

ब्राजिलको पुनरागमन जीत, ४ पटकको विश्वविजेता जर्मनी विश्वकपबाट बाहिरियो


काठमाडौं,  असार १६ ।  फिफा विश्वकप फुटबलमा ब्राजिलले जापानलाई २–१ ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको छ ।

खेलको इन्जुरी समयको पाँचौँ मिनेटमा गाब्रिएल मार्टिनेलीले निर्णायक गोल गर्दै ब्राजिललाई रोमाञ्चक जित दिलाए । जापानको पेनाल्टी क्षेत्रमा ब्रुनो गिमारेसको पासमा मार्टिनेलीले गोल गरेका हुन् । यसअघि पहिलो हाफमा जापानले अग्रता लिएको थियो ।

ब्राजिलका डानिलोको कमजोर पासलाई काइशु सानोले नियन्त्रणमा लिँदै गोल गरेपछि टोलीलाई १–० को अग्रता दिलाएका थिए । दोस्रो हाफ सुरु भएको १० मिनेटपछि काजिमिरोले हेडमार्फत गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए ।

बराबरीपछि ब्राजिलले लगातार दबाब सिर्जना गरे पनि जापानका गोलरक्षक जियोन सुजुकीले उत्कृष्ट बचाउ गर्दै टोलीलाई खेलमा कायम राखेका थिए । तर खेलको अन्तिम क्षणमा मार्टिनेलीले गोलमा परिणत गर्दै ब्राजिलको जित सुनिश्चित गरेका हुन् ।

यस जितसँगै ब्राजिलले अन्तिम १६ मा स्थान बनाएको छ ।अब ब्राजिलले अन्तिम १६ मा नर्वे वा आइभोरी कोस्टमध्ये एक टोलीसँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै आज बिहान भएको अर्को खेलमा उपाधि दाबेदार जर्मनी विश्वकपबाट बाहिरिएको छ । पाराग्वेसँग पेनाल्टी सुटआउटमा पराजित हुँदै चार पटकको विश्व च्याम्पियन जर्मनीको यात्रा अन्तिम ३२ बाट नै समाप्त भएको हो ।

निर्धारित समयको पहिलो हाफको ४२औँ मिनेटमा जुलियो एन्सिसोले हेडमार्फत गोल गर्दै पाराग्वेलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ५३औँ मिनेटमा काइ हाभेट्र्जले गोल गर्दै जर्मनीलाई १–१ को बराबरीमा फर्काए ।

निर्धारित समय र अतिरिक्त समयसम्म दुवै टोलीबाट थप गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो । पेनाल्टी शुटआउटमा पाराग्वेले ऐतिहासिक जित हात पार्‍यो । पाराग्वे क्वार्टरफाइनलमा प्रवेश गरेको छ भने जर्मनीको विश्वकप यात्रा अन्तिम ३२ चरणमै टुङ्गिएको छ ।

विश्वकप फुटबलमा अहिले बिहान पौने ७ बजे नेदरल्याण्डस र मोरक्कोले खेल्दैछन् ।