काठमाडौं, असार १६ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रथम महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूको अन्तिम तथा अद्यावधिक नामावली सार्वजनिक गरेको छ। यसअघि परिणाम प्रकाशनका क्रममा छुटेका पूजा बास्तोला र ध्रुवकुमार थापा मगरलाई समेट्दै निर्वाचन आयोगले संशोधित सूची जारी गरेको हो।
रास्वपाको केन्द्रीय निर्वाचन आयोगका अनुसार प्रारम्भिक नतिजा प्रकाशनका क्रममा भएको प्राविधिक त्रुटिका कारण केही उम्मेदवारको नाम गलत रूपमा समावेश भएको थियो। मतपरिणाम तथा उम्मेदवारीसम्बन्धी कागजात पुनः अध्ययनपछि त्रुटि सच्याएर अन्तिम सूची सार्वजनिक गरिएको आयोगले जनाएको छ।
आयोगका अनुसार जनजाति क्लस्टरतर्फ कृष्णमान श्रेष्ठको नाम प्रकाशित भए पनि अध्ययनका क्रममा ध्रुवकुमार थापा मगर निर्वाचित भएको पुष्टि भएपछि उहाँलाई निर्वाचित घोषणा गरिएको हो।
त्यस्तै, गण्डकी प्रदेशको प्रादेशिक (भूगोल) तर्फ पूजा बास्तोला निर्वाचित हुनुपर्नेमा सोम शर्माको नाम समावेश भएको पाइएपछि मतपरिणाम पुनः परीक्षण गरी पूजा बास्तोलालाई निर्वाचित घोषणा गरिएको आयोगले जनाएको छ।
रास्वपाले संशोधित निर्णयसँगै प्रथम महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूको अन्तिम नामावली सार्वजनिक गरेको छ।













प्रतिक्रिया दिनुहोस्