जनता टाइम्स

१६ असार २०८३, मंगलवार २०:२८

होटल–रेस्टुरेन्टको खानामा कडाइ गर्न गृहको निर्देशन, ७७ जिल्लामा हटलाइन स्थापना गरिने


काठमाडौं,  असार १६ । गृह मन्त्रालयले देशभरका होटल तथा रेस्टुरेन्टमा उपलब्ध गराइने खानाको गुणस्तर र स्वच्छतामा कडाइ गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ।

आइतबार सबै प्रमुख जिल्ला अधिकारी (सिडिओ)लाई जारी गरिएको परिपत्रमार्फत मन्त्रालयले होटल तथा रेस्टुरेन्टको नियमित, सघन तथा आकस्मिक अनुगमन गर्न र खाद्य गुणस्तरमा लापरबाही गर्ने तथा कानुन उल्लङ्घन गर्ने पक्षमाथि कडा कारबाही गर्न निर्देशन दिएको हो।

सर्वसाधारणबाट होटल तथा रेस्टुरेन्टमा अस्वच्छ र गुणस्तरहीन खाना उपलब्ध गराइने गुनासो बढेपछि मन्त्रालयले बजार अनुगमनलाई थप प्रभावकारी बनाउन यस्तो कदम चालेको जनाएको छ।

मन्त्रालयले प्रत्येक जिल्ला प्रशासन कार्यालयमा नागरिकका गुनासा दर्ता तथा तत्काल सुनुवाइका लागि हटलाइन वा द्रुत सेवा डेस्क स्थापना गर्न पनि निर्देशन दिएको छ। प्राप्त प्रत्येक गुनासोलाई उच्च प्राथमिकताका साथ सम्बोधन गर्न सिडिओहरूलाई भनिएको छ।

स्थानीयस्तरका सामान्य समस्या समाधानका लागि नागरिकले मन्त्रालय वा केन्द्रसम्म धाउनुपर्ने अवस्था अन्त्य गर्न जिल्ला प्रशासन कार्यालयले नै प्रभावकारी रूपमा काम गर्नुपर्ने गृह मन्त्रालयको निर्देशन छ।

गृह मन्त्रालयले स्थानीय प्रशासनको कार्यसम्पादनको प्रत्यक्ष अनुगमन गर्ने जनाउँदै कुनै पनि प्रकारको लापरबाही वा उदासीनता स्वीकार्य नहुने स्पष्ट पारेको छ। नागरिक केन्द्रित सेवा प्रवाह, विधिको शासन र प्रशासनिक उत्तरदायित्वलाई प्रभावकारी बनाउन सबै जिल्ला प्रशासन कार्यालयलाई सक्रिय भूमिका निर्वाह गर्न मन्त्रालयले आग्रह गरेको छ।

गृह मन्त्रालयका अनुसार गृहमन्त्री सुधन गुरुङको निर्देशनमा शाखा अधिकृत संगम सापकोटाले उक्त परिपत्र जारी गर्नुभएको हो।