जनता टाइम्स

१६ असार २०८३, मंगलवार २०:३२

तोडफोड, हत्याहिंसा र आगजनीलाई सरकारले वैधानिकता दिएको अध्यक्ष ओलीको आरोप


काठमाडौं,  असार  १६ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ गते भएका तोडफोड, हत्याहिंसा, आगजनी र लुटपाटका घटनालाई वर्तमान सरकारले वैधानिकता दिएको आरोप लगाउनुभएको छ।

पार्टीनिकट नेपाल खेलकुद महासंघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफू नेतृत्वको सरकारले देशलाई विपद्, कोभिड महामारी र आर्थिक संकटबाट उकास्ने प्रयास गरेको दाबी गर्नुभयो।

उहाँले शिक्षा, स्वास्थ्य, खेलकुदलगायतका क्षेत्रमा सुधारका प्रयास भइरहेका बेला विभिन्न शक्तिले संवैधानिक माध्यमबाट सरकार परिवर्तन गर्न नसकेपछि असंवैधानिक बाटो अपनाएको आरोप लगाउनुभयो।

“संवैधानिक हिसाबले सरकार ढाल्न नसकेपछि उपद्रव, तोडफोड, हत्या, हिंसा, आगजनी र लुटपाटको बाटो समातियो, अहिले ती गतिविधिलाई वैधानिकता दिने काम भइरहेको छ,” उहाँले भन्नुभयो।

अध्यक्ष ओलीले देशलाई पुनः शान्तिपूर्ण, भयमुक्त र कानुनी शासनमा आधारित प्रणालीतर्फ अघि बढाउनुपर्ने आवश्यकता औंल्याउँदै सबै नागरिकले समान रूपमा न्याय पाउने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभयो।