काठमाडौं, असार १६ । सर्वोच्च अदालतले नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमाथिको सुनुवाइका लागि व्यवसायी दीपक भट्टसँग सम्बन्धित मुद्दाको सक्कल फाइल झिकाउन आदेश दिएको छ।
सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा पक्राउ परेर थुनामा रहेका विष्णु पौडेलको रिहाइको माग गर्दै उहाँकी पत्नी दोमाया पौडेलले असार १० गते बन्दीप्रत्यक्षीकरणको रिट दायर गर्नुभएको थियो।
रिटमाथिको दोस्रो सुनुवाइका क्रममा न्यायाधीश टेकप्रसाद ढुंगाना र मेघराज पोखरेलको संयुक्त इजलासले दीपक भट्टसँग सम्बन्धित चारवटा मुद्दाको अभियोगपत्रसहित सक्कल फाइल सम्बन्धित अदालतबाट झिकाउन आदेश दिएको हो।
सर्वोच्चले उक्त फाइल अवलोकनका लागि पेस गरी सुनुवाइपछि सम्बन्धित अदालतमा फिर्ता पठाउने व्यवस्था गर्न आदेश दिएको छ। साथै, दीपक भट्टले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटको मिसिल पनि सर्वोच्च अदालतको अभिलेख शाखाबाट झिकाएर संलग्न राख्न निर्देशन दिएको छ।
सर्वोच्च अदालतले यस मुद्दाको थप सुनुवाइका लागि असार १८ गतेको पेसी तोकेको छ।













प्रतिक्रिया दिनुहोस्