जनता टाइम्स

१७ असार २०८३, बुधबार ०८:४९

सदर चिडियाखानामा बर्डफ्लु नियन्त्रणउन्मुख, नयाँ सङ्क्रमण नदेखिएको दाबी


काठमाडौं, असार  १७ । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा देखिएको बर्डफ्लु सङ्क्रमण नियन्त्रणउन्मुख रहेको चिडियाखाना प्रशासनले जनाएको छ।

गत असार ५ गते बर्डफ्लु पुष्टि भएपछि चिडियाखाना बन्द गरी प्रभावित क्षेत्र सुरक्षित बनाउने, सङ्क्रमित तथा बिरामी जीवजन्तुको उपचार गर्ने तथा भाइरसको फैलावट रोक्न विभिन्न नियन्त्रणात्मक उपाय लागू गरिएको थियो।

चिडियाखानाका सूचना अधिकारी गणेश कोइरालाका अनुसार निरन्तर औषधि छर्कने, जीवजन्तु राखिएका स्थानको सरसफाइ गर्ने र बिरामी जनावरको उपचारलाई प्राथमिकता दिइएको छ। उहाँका अनुसार पछिल्लो परीक्षणमा असार १२ गतेयता चिडियाखानाभित्र बर्डफ्लुको नयाँ सङ्क्रमण पुष्टि भएको छैन।

सङ्क्रमणको अवस्थाबारे विस्तृत अध्ययन गर्न बर्डफ्लु नियन्त्रण अध्ययन समिति गठन गरिएको छ। समितिले केही दिनभित्र प्रतिवेदन बुझाउने र त्यसका आधारमा विज्ञहरूको सुझाव लिएर चिडियाखाना सर्वसाधारणका लागि कहिलेदेखि पुनः सञ्चालन गर्ने भन्ने निर्णय गरिने जनाइएको छ।

यता, पशु सेवा विभागले भने काठमाडौं उपत्यकामा बर्डफ्लुको जोखिम अझै कायम रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ। विभागका अनुसार उपत्यकाका विभिन्न क्षेत्रमा बर्डफ्लु फैलिने जोखिम रहेकाले निगरानी र सावधानीलाई निरन्तरता दिइएको छ।

चिडियाखाना प्रशासनले जीवजन्तुको सुरक्षा र सर्वसाधारणको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै आवश्यक सबै सावधानी अपनाइएको जनाएको छ।