जनता टाइम्स

१७ असार २०८३, बुधबार १९:५६

फिफाको निलम्बनमा एन्फा परेसँगै नेपालले गुमायो तीन प्रतियोगिता


काठमाडौं, असार १७ । सरकारको चरम हस्तक्षेप र पदाधिकारीको बदमासीले अखिल नेपाल फुटबल संघ (एन्फा) निलम्बनमा परेसँगै नेपाली टोली र नेपाली क्लबले खेल्ने अन्तर्राष्ट्रिय प्रतियोगिताहरू धमाधम रोकिन पुगेका छन् ।

एसियाली फुटबल महासंघ एएफसीले एन्फालाई पत्राचार गर्दै आगामी ३ महिनामा हुने तीनवटा एसियाली खेलकुदमा नेपालले भाग लिन नपाउने जानकारी गराएको छ । एएफसीका महासचिव डाटुक सेसी विन्डसोर जोनले निलम्बित एन्फाका महासचिव किरण राईलाई पत्राचार गरी जानकारी गराएअनुसार नेपालले एएफसी महिला च्याम्पियन्स लिग २०२६-२७, एएफसी यू १७ महिला एसियन कप २०२७ छनोट र एएफसी यू २० एसियन कप २०२७ छनोट खेल्न पाउने छैन ।

त्यसमध्ये सशस्त्र प्रहरी बल एपीएफको टोलीले सहभागिता जनाउने निश्चित भइसकेको एएफसी महिला च्याम्पियन्स लिग २०२६-२७ को टाई सिट ‘ड्र’ बाट नेपालको नाम हटाइएको छ । उक्त प्रतियोगितामा सशस्त्र प्रहरी बल एपीएफको महिला टोलीले सहभागिता जनाउँदै थियो । एएफसीले प्रारम्भिक र फाइनल प्रतियोगिता गरी २९ सदस्य राष्ट्रका ३० क्लब सहभागी हुने जनाएको छ ।

गत संस्करण उज्वेकिस्तानमा भएको समूह ‘बी’का तीनवटै खेलमा पराजित हुँदै एपीएफ प्रतियोगिताबाट बाहिरिएको थियो । एपीएफ घरेलु टोली एफसी नसाफ, थाइल्यान्डको कलेज अफ एसियन स्कलर्स र साउदी अरेबियाको अल–नासरसँग पराजित भएको थियो ।