काठमाडौं, असार १७ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान राजनीतिक परिस्थितिमा कम्युनिष्ट पार्टीहरूबीच औपचारिक एकताभन्दा विचार मिल्ने शक्तिहरूसँग कार्यगत एकता गरेर अघि बढ्नुपर्ने बताउनुभएको छ।
एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले च्यासलस्थित केन्द्रीय कार्यालयमा आयोजना गरेको सम्पर्क विशेष सङ्गठन कमिटीसँगको सुझाव सङ्कलन कार्यक्रममा अध्यक्ष ओलीले साझा नीति, विचार र उद्देश्य भएका व्यक्ति तथा शक्तिहरूबीच सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो।
उहाँले एमाले नेतृत्वको सरकारले देशको विकास र जनताको हितमा ऐतिहासिक तथा असाधारण काम गरेको उल्लेख गर्दै त्यसको निरन्तरताका लागि पार्टी थप एकताबद्ध हुनुपर्नेमा जोड दिनुभयो।
अध्यक्ष ओलीले देशको राजनीतिक र सामाजिक परिवर्तनमा एमालेको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै पार्टी फेरि पनि जनताको विश्वास जितेर देशलाई सही दिशामा अघि बढाउन सक्षम हुने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा एमालेका उपाध्यक्ष तथा कार्यदल संयोजक रामबहादुर थापा, उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ, महासचिव शंकर पोखरेल र नेता लालबाबु पण्डितलगायत नेताहरूको उपस्थिति रहेको थियो।













प्रतिक्रिया दिनुहोस्