काठमाडौं, असार १७ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक **पुष्पकमल दाहाल ‘प्रचण्ड’**ले पार्टी नेतृत्व रणनीतिक लक्ष्यबाट विचलित भएर पद, सत्ता र सुविधामुखी राजनीतिमा अल्झिएको स्वीकार गर्नुभएको छ।
पोखरामा आयोजित पार्टी भेलालाई सम्बोधन गर्दै उहाँले शान्ति सम्झौता र संविधान निर्माण ऐतिहासिक उपलब्धि भए पनि त्यसपछि पार्टीले दीर्घकालीन रणनीति छाडेर तत्कालीन राजनीतिक कार्यनीतिलाई नै प्राथमिकता दिएको बताउनुभयो।
उहाँले चुनाव जित्ने, सरकारमा जाने, मन्त्री र प्रधानमन्त्री बन्ने लक्ष्यमा मात्र केन्द्रित हुँदा पार्टीको मूल राजनीतिक दिशा कमजोर बनेको उल्लेख गर्नुभयो।
प्रचण्डले नेतृत्वकै कमजोरीका कारण कार्यकर्तामा पनि पद, प्रतिष्ठा र स्वार्थमुखी प्रवृत्ति फैलिएको स्वीकार गर्दै प्रधानमन्त्री बन्नका लागि कहिले कांग्रेस, कहिले एमाले तथा अन्य दलसँग सहकार्य गर्नु गल्ती भएको बताउनुभयो।
उहाँले संविधान जारी भएपछि पार्टी नेतृत्व जनताको मुद्दाभन्दा तात्कालिक स्वार्थमा केन्द्रित भएको उल्लेख गर्दै समाजवादी मूल्य र आदर्श कमजोर बन्दै व्यक्तिवाद, अवसरवाद र स्वार्थ हाबी भएको धारणा राख्नुभयो।
प्रचण्डले जनताले कम्युनिस्ट पार्टीबाट ठूलो परिवर्तनको अपेक्षा गरे पनि व्यवहारमा पद, प्रतिष्ठा र पैसाका लागि प्रतिस्पर्धा गर्ने प्रवृत्ति देखिएकाले जनविश्वास कमजोर भएको स्वीकार गर्नुभयो।













प्रतिक्रिया दिनुहोस्