काठमाडौं, असार १८ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले प्रधानमन्त्री तथा बालेन्द्र शाह नेतृत्वको सरकारले नियुक्ति प्रक्रियामा दोहोरो मापदण्ड अपनाएको आरोप लगाउनुभएको छ।
सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै उहाँले सरकारले ‘जान्नेलाई छान्ने’ भन्ने नाराको आडमा आफ्ना निकट व्यक्तिलाई नियुक्ति दिएको टिप्पणी गर्नुभएको हो।
प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति बालेन्द्र शाहले नेपाल सरकारका पूर्वसचिव तथा वरिष्ठ सहरी योजनाविद् किशोर थापालाई त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अध्यक्ष नियुक्त गरेपछि महासचिव पोखरेलको प्रतिक्रिया आएको हो।
उहाँले विगतमा बालेन्द्र शाहसँग स्थानीय तह निर्वाचनमा प्रतिस्पर्धा गरेका व्यक्तिलाई अध्यादेशमार्फत पद रिक्त गराएर नियुक्त गरिएको भन्दै सरकारको दोहोरो चरित्र उजागर भएको दाबी गर्नुभएको छ।
महासचिव पोखरेलले विश्वविद्यालयलाई राजनीतिमुक्त बनाउने दाबी गर्दै विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउने सरकार आफैं राजनीतिक नियुक्तिमा लागेको आरोप पनि लगाउनुभयो।
उहाँका अनुसार राजनीतिकरण अन्त्य गर्ने नाममा अध्यादेश ल्याएर पद खाली गर्ने र त्यसमा आफ्नै दलसँग निकट व्यक्तिलाई नियुक्त गर्नु ‘जान्नेलाई छान्ने’ नाराको वास्तविक रूप भएको टिप्पणी गर्नुभएको छ।













प्रतिक्रिया दिनुहोस्