काठमाडौं, असार १८ । मादक पदार्थ सेवन गरेर सवारी चलाउने चालकलाई कडा जरिवाना गर्ने प्रस्तावबारे सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा खेलकुदमन्त्री सस्मित पोखरेलले हाल उक्त व्यवस्था प्रस्तावकै चरणमा रहेको बताउनुभएको छ।

बिहीबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा सञ्चारकर्मीले ‘रक्सी सेवन गरेर गाडी चलाउनेलाई ५० हजार रुपैयाँसम्म जरिवाना प्रस्ताव गरिएको छ, गाँजा सेवन गरेर चलाउनेलाई कति जरिवाना हुन्छ?’ भन्ने प्रश्न गरेका थिए।
प्रश्नको जवाफ दिने क्रममा मन्त्री पोखरेल केहीबेर मुस्कुराउनुभयो र ‘त्यो अहिले सबै प्रस्तावित विषय मात्रै हो। सम्बन्धित मन्त्रालयले त्यसबारे स्पष्ट पारिसकेको छ,’ भन्दै विस्तृत प्रतिक्रिया दिनुभएन।
सरकारले सवारी तथा यातायात व्यवस्था ऐन संशोधनमार्फत मादक पदार्थ सेवन गरेर सवारी चलाउने चालकविरुद्ध कडा कारबाहीको व्यवस्था गर्न लागेको छ। प्रस्तावित मस्यौदाअनुसार रगतमा तोकिएको सीमाभन्दा बढी अल्कोहल भेटिए दुईपांग्रे चालकलाई २५ हजार, साना सवारी चालकलाई ३५ हजार तथा मझौला र ठूला सवारी चालकलाई ५० हजार रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था प्रस्ताव गरिएको छ।
मस्यौदामा चालकको रगतमा अल्कोहलको मात्रा ०.०५ ग्राम प्रतिडेसिलिटरभन्दा बढी भए मादक पदार्थ सेवन (मापसे) गरेको मानिने उल्लेख छ। ३० वर्षभन्दा कम उमेरका तथा परीक्षणकालमा रहेका चालकका लागि भने यो सीमा ०.०२ ग्राम प्रतिडेसिलिटर तोक्ने प्रस्ताव गरिएको छ।
प्रस्तावित संशोधन हाल छलफलकै चरणमा रहेकाले अन्तिम निर्णय भने ऐन संशोधनपछि मात्रै हुने सरकारको भनाइ छ।












प्रतिक्रिया दिनुहोस्