काठमाडौं, असार १९ । उच्च अदालत पाटनले अखिल नेपाल फुटबल संघ (एन्फा)का पदाधिकारी तथा सदस्यहरूको विदेश भ्रमणमा लगाइएको रोक तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ।
न्यायाधीशद्वय गणेशप्रसाद बराल र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको संयुक्त इजलासले शुक्रबार एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङले दायर गर्नुभएको रिटमाथि सुनुवाइ गर्दै रिटको अन्तिम टुंगो नलागेसम्म विदेश यात्रामा अवरोध नगर्न सरकारका नाममा अन्तरिम आदेश दिएको हो।
अदालतको आदेशसँगै राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले एन्फा पदाधिकारीहरूको विदेश भ्रमण रोक्न अध्यागमन विभागलाई पठाएको पत्रको कार्यान्वयन तत्कालका लागि रोकिएको छ।
यसअघि राखेपको सिफारिसका आधारमा अध्यागमन विभागले एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङ, महासचिव किरण राईसहितका पदाधिकारीको विदेश यात्रा रोक लगाएको थियो।
फिफा विश्वकपसँग सम्बन्धित कार्यक्रममा सहभागी हुन विदेश जान लाग्नुभएका अध्यक्ष नेम्बाङ र महासचिव राईलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फर्काइएको थियो।
एन्फाका केही पदाधिकारीविरुद्ध आर्थिक अनियमिततासम्बन्धी उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ। अदालतले भने अनुसन्धानको प्रक्रिया जारी रहे पनि रिटको अन्तिम फैसला नआएसम्म विदेश भ्रमणमा रोक लगाउने निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो।













प्रतिक्रिया दिनुहोस्