जनता टाइम्स

१९ असार २०८३, शुक्रबार २१:०२

सरकारको १०० दिनबारे रवि लामिछानेः ‘राम्रो सुरुवात भएको छ, ठूला नतिजा आउन दुई–तीन वर्ष लाग्छ’


काठमाडौं, १९ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकारको पहिलो १०० दिन नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने विषय र सुशासनलाई प्राथमिकतामा राखेर राम्रो सुरुवात भएको बताउनुभएको छ।

शुक्रबार सिंहदरबारमा बसेको रास्वपा संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सरकारले प्रारम्भिक चरणमा नागरिक सेवा, सुशासन र प्रशासनिक सुधारमा विशेष ध्यान दिएको उल्लेख गर्नुभयो।

उहाँका अनुसार विकास निर्माण र दीर्घकालीन पूर्वाधार आयोजनाको प्रभाव तत्काल नदेखिने भएकाले त्यसको मूल्याङ्कन गर्न कम्तीमा दुईदेखि तीन वर्ष लाग्नेछ।

“सरकारले पहिलो सय दिनमा नागरिकसँग प्रत्यक्ष सम्बन्धित विषयलाई प्राथमिकता दिएको छ। सुशासनमा विशेष जोड दिइएको छ, जुन आवश्यक पनि थियो,” लामिछानेले भन्नुभयो।

उहाँले भौतिक पूर्वाधारलगायतका दीर्घकालीन योजनाहरू दुई–तीन वर्षको कार्ययोजनाअनुसार अघि बढाइएको बताउँदै ती आयोजनाको परिणाम तत्काल अपेक्षा गर्न नमिल्ने धारणा राख्नुभयो। यद्यपि तत्काल देखिने केही क्षेत्रमा पनि सरकारले उपलब्धिमूलक काम गरेको उहाँको दाबी थियो।

सभापति लामिछानेले नागरिक सेवा प्रवाहलाई थप सहज, चुस्त र कम झन्झटिलो बनाउने प्रक्रिया सुरु भइसकेको उल्लेख गर्दै त्यसको सकारात्मक प्रभाव विस्तारै देखिने विश्वास व्यक्त गर्नुभयो।

उहाँले सरकारको प्रारम्भिक कार्यकाललाई “राम्रो सुरुवात”को संज्ञा दिँदै दीर्घकालीन सुधारका लागि निरन्तरता आवश्यक रहेको बताउनुभयो।