काठमाडौं, असार २० । फिफा बिश्व्कप २०२६ को प्रि–क्वार्टर फाइनल खेल आज आइतवार बिहानबाट सुरु हुँदैछ ।
नकआउट चरण पार गर्दै राउण्ड १६ मा पुगेका टीममध्ये नेपाली समयअनुसार आज बिहान २ः४५ बजे स्टार खेलाडीले भरिएको फ्रान्सविरुद्ध सरप्राइज टोली पाराग्वेको भिडन्त हुनेछ । यी दुई टोली फिफा विश्वकप २०२६ को दोस्रो प्रिक्वाटरफाइनलमा खेल्दैछन् र सबैको नजर अहिले यही खेलमा रहेको छ ।
साविक उपविजेता फ्रान्स र पाराग्वेबीचको खेल आइतबार राती अमेरिकाको फिलाडेल्फिया स्टेडियममा सुरु हुनेछ । नकआउट चरणमा यस विश्वकपमा सबैभन्दा ठूलो अपसेट नतिजा निकालेको पाराग्वेले चार पटकको विश्व विजेता जर्मनीलाई पेनाल्टी सुटआउटमा पराजित गरेको थियो । यता फ्रान्सले स्वीडेनलाई रेगुलर टाइममा ३–० ले पराजित गरेको थियो ।
यस पटक उपाधिको सबैभन्दा ठूलो दाबेदारको रुपमा रहेको फ्रान्स अहिले राम्रो लयमा छ । फ्रान्सलाई रोक्नु अहिले जुनसुकै टिमका लागि पनि ठूलो चुनौती बन्ने गरेको छ । सन् २०१८ मा रुसमा भएको विश्वकपको उपाधि जितेको फ्रान्स सन् २०२२ मा कतारमा पनि फाइनल पुगेको थियो । जहाँ अर्जेन्टिनासँग पेनाल्टीमा पराजित हुँदै उपबिजेता बन्यो । लगातार तेस्रो पटक फाइनल पुग्ने र विश्वकप पनि तेस्रो पटक जित्ने लक्ष्यमा फेन्च टोली रहेको छ । त्यसैले पनि पाराग्वेका लागि फ्रान्सको चुनौती ठूलो छ ।
तर नकआउटको पहिलो खेलमै जर्मनीलाई हराएपछि दक्षिण अमेरिकी टोली पाराग्वेको मनोवल निकै उच्च बनेको छ । नकआउट चरणको खेल भएकोले खेलेको दिन जस्तो पनि नतिजा आउन सक्छ भने पाराग्वे प्रमाणित गरिसकेको छ । फ्रान्स जारी विश्वकपमा अपराजित छ । समूह चरणको तीनवटै खेल जित्ने तीन टिम मध्ये एक रहेको फ्रान्सले सबै खेल रेगुलर टाइमम जितेको छ ।

कप्तान किलियन एमबाप्पेसँगै फरवार्ड उसमान डेम्बेले, ब्राडली बार्कोला उत्कृष्ट लयमा छन् र गोल स्कोर पनि गरिरहेका छन् । उनीहरुका लागि मिडफिल्डबाट बल सप्लाई गर्ने असिस्ट किङको रुपमा माइकल ओलिसे छन् । समूहको पहिलो खेलमा सेनेगललाई ३–१ ले पराजित गरेको फ्रान्सले त्यसपछि इराकलाई ३–० र नर्वेलाई ४–१ ले पराजित गर्दै समूह विजेता बनेको थियो ।
एमबाप्पेको २ गोलमा स्वीडेनलाई राउण्ड अफ ३२ मा ३–० ले नै पराजित गर्दै फ्रान्स समूह विजेता बनेको हो । फ्रान्सले यस विश्वकपमा खेलेको सबै खेलमा ३ वा सो भन्दा बढी गोल गरेको छ भने विश्वकपमा लगातार पाँच खेलमा ३ वा सो भन्दा बढी गोल गर्ने फ्रान्स पहिलो टिम समेत बनेको छ ।
अर्कोतर्फ पाराग्वेको लागि भने यस विश्वकपको यात्रा केही उतारचढावपूर्ण रहेको छ । समूह चरणमा तीन मध्ये एक खेल मात्र जितेको पाराग्वे उत्कृष्ट तेस्रो उपविजेता टोलीमा पर्दै नकआउट चरणमा छनोट भएको थियो । पहिलो खेलमै सहआयोजक अमेरिकासँग ४–१ ले पराजित भएको पाराग्वे दोस्रो खेलमा टर्किएलाई दश खेलाडीमा समेटिएर पनि १–० ले पराजित गरेको थियो । तेस्रो खेलमा अस्ट्रेलियासँग गोलरहित बराबरी खेल्दै समान ४ अंक जोडेपनि अस्ट्रेलिया भन्दा गोल अन्तरमा पछि पर्दै समूहमा तेस्रो भएको थियो ।
राउण्ड अफ ३२ मा जर्मद्दी विरुद्ध गुलियो इन्सिसोको गोलमा पहिलो हाफमा अग्रता समेत लिएको थियो । तर काई हाभार्टले दोस्रो हाफमा बराबरी गोल फर्काएपछि निर्धारित समयम र अतिरिक्त समय १–१ को बराबरीमा सकियो । त्यसपछि पेनाल्टीसुटआउटमा जर्मनीाई ४–३ ले पराजित गर्दै पाराग्वे अन्तिम १६ मा पुगेको हो । जर्मनीका जोनाथान ताहले सडनडेथमा पेनाल्टी मिस गरेपनि जोसे कानालेले पाराग्वेका लागि निर्णायक पेनाल्टीमा गोल गरेका थिए ।

पाराग्वे विश्वकपमा दोस्रो पटक नकआउट चरणको खेल जितेको हो । सन् २०१० मा जापानलाई अन्तिम १६ मा हराउँदै क्वाटरफाइनल पुगेको पाराग्वे फ्रान्सलाई स्तब्ध पार्दै दोस्रो पटक क्वाटरफाइनल पुग्ने लक्ष्यमा रहेको छ ।
पाराग्वे र फ्रान्स अहिलेसम्म फिफा विश्वमपा दुई पटक आमने सामने हुँदा दुवै खेल फ्रान्सले जितेको छ । फ्रान्सको लागि ति दुवै जित विशेष छ । सन् १९५८ मा फ्रान्सले पाराग्वेलाई ७–३ ले पराजित गर्दा जस्ट फोन्टेनले ह्याट्रिक गरेका थिए । उक्त विश्वकपमा फोन्टेनले १३ गोल गरेका थिए ।
यस्तै त्यसको ३० वर्षपछि फ्रान्सले घरेलु मैदानमा विश्वकप आयोजना गर्दा अन्तिम १६ मै फ्रमान्स र पाराग्वेको भेट भएको थियो । जहाँ फ्रान्सले पाराग्वेलाई २–१ ले पराजित गर्दै क्वाटरफाइनलमा पुगेको थियो ।
अहिलेसम्म भने फ्रान्स र पाराग्वेबीच कूल ५ खेल भएका छन् जसमा फ्रान्स अपराजित छ । फ्रान्सले ३ खेल जित्दा २ खेल बराबरीमा सकिएको थियो । पछिल्लो पटक यी दुई टोली सन् २०१७ मा भेट हुँदा फ्रान्स ५–० ले विजयी भएको थियो ।













प्रतिक्रिया दिनुहोस्