काठमाडौं, १९ साउन । अविरल वर्षाका कारण देशका विभिन्न जिल्लाका नौ वटा प्रमुख सडकखण्ड अवरुद्ध भएका छन्। नेपाल प्रहरीले मंगलबार साँझ ५ बजेसम्मको विवरण सार्वजनिक गर्दै यात्रामा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।
प्रहरीका अनुसार काभ्रेपलाञ्चोक–सिन्धुली खण्डको बिपी राजमार्गमा सम्भावित बाढीको जोखिमका कारण साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म भने सवारी सञ्चालन हुने व्यवस्था गरिएको छ।
त्यस्तै, मकवानपुरस्थित कान्तिलोकपथमा पनि वर्षाका कारण साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
प्रहरीका अनुसार इलामको मेची राजमार्ग, सिन्धुपाल्चोकको अरनिको राजमार्ग, दोलखाको लामाबगर–रामेछाप सडक, रसुवाको पासाङ ल्हामु राजमार्ग, ललितपुरको कान्तिलोकपथ, ताप्लेजुङको मेची राजमार्ग तथा लमजुङको बेँसीसहर–मनाङ सडकखण्ड पहिरो, सडक कटान र हिलोका कारण पूर्ण रूपमा अवरुद्ध भएका छन्।
यद्यपि, दोलखाको लामासाँघु–रामेछाप सडकखण्डमा खिम्ती ग्रामीण विद्युत् सहकारी संस्थाको कार्यालय परिसर हुँदै वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ।
नेपाल प्रहरीले वर्षाका कारण सडकको अवस्था निरन्तर परिवर्तन भइरहने भएकाले यात्रा गर्नुअघि सम्बन्धित निकायबाट सडकको पछिल्लो अवस्था बुझेर मात्रै यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।













प्रतिक्रिया दिनुहोस्