जनता टाइम्स

२० श्रावण २०८३, बुधबार १४:३३

सुदेश खालिङको मेहनतको परिणाम : एभरेष्ट बैंकले कमायो ५ अर्ब ६ करोड खुद नाफा


काठमाडौं, साउन २० । एभरेष्ट बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म ५ अर्ब ६ करोड ९९ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

बैंकले कमाएको यो नाफा अघिल्लो आर्थिक बर्षको सोही अवधिको तुलनामा ४.७५ प्रतिशत बढी हो । गत आवमा एभरेष्ट बैंकले ४ अर्ब ८३ करोड ९९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

एभरेष्ट बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार गत असार मसान्तसम्म ९ अर्ब १९ करोड ४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यस्तै बैंकको सञ्चालन नाफा पनि ७ अर्ब ३८ करोड ४४ लाख रुपैयाँ पुगेको छ ।

उस्तै बैंकको कुल वितरणयोग्य नाफा ५ अर्ब २५ करोड ७८ लाख रुपैयाँ पुगेको छ भने प्रतिशेयर वितरणयोग्य नाफा ३८ रुपैयाँ ३२ पैसा कायम भएको छ । बिवरणअनुसार बैंकको चुक्ता पूँजी १३ अर्ब ७२ करोड १३ लाख रुपैयाँ पुगेको छ ।

यस अवधिमा बैंकले ३ खर्ब १६ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर २ खर्ब ३५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको कुल सम्पत्तिको आकार ३ खर्ब ८३ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ ।

एभरेष्ट बैंकका कार्यकारी टीमको नेतृत्व प्रमुख कार्यकारी अधिकृत (सिईओ) सुदेश खालिङले गर्नुभएको छ । उहाँको योजना, लगनशीलता र बैंकका सिंगो टीमको मेहनतको फल स्वरुप खुद नाफा बढेको हो ।