काठमाडौँ,२६ साउन । भारतीय विदेशमन्त्री एस जयशंकर अगस्टको अन्तिम साता नेपाल आउने भएका छन् । प्रधानमन्त्री वालेन्द्र शाहलाई १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन निमन्त्रणा दिन जयशंकर नेपाल आउन लागेका हुन् ।
परराष्ट्र मन्त्रालयका उच्च स्रोतका अनुसार कुनै अप्रत्याशित घटना नभए जयशंकर अगस्टको अन्तिम साता काठमाडौं आउने तयारी छ । उनले प्रधानमन्त्री शाहलाई भारतमा आयोजना हुने ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन औपचारिक निमन्त्रणा दिनेछन् ।
१८औँ ब्रिक्स शिखर सम्मेलन आगामी सेप्टेम्बर १२ र १३ मा भारतको नयाँ दिल्लीमा आयोजना हुँदैछ ।
भारतले यसअघि पनि ब्रिक्स शिखर सम्मेलनमा नेपालका प्रधानमन्त्रीलाई निमन्त्रणा गर्दै आएको छ । भारतको निमन्त्रणामा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सन् २०१६ मा भारतमा आयोजित ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुनुभएको थियो ।
त्यस क्रममा तत्कालीन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री प्रचण्डबीच त्रिपक्षीय भेटवार्तासमेत भएको थियो ।
यसपटक पनि भारतले प्रधानमन्त्री शाहलाई ब्रिक्स शिखर सम्मेलनमा सहभागी गराउन निमन्त्रणा दिन लागेको हो । सोही निमन्त्रणा लिएर भारतीय विदेशमन्त्री जयशंकर काठमाडौं आउन लाग्नुभएको स्रोतले जनाएको छ ।
ब्रिक्समा ब्राजिल, चीन, इजिप्ट, इथियोपिया, भारत, इन्डोनेसिया, इरान, रुस, साउदी अरेबिया, दक्षिण अफ्रिका र संयुक्त अरब इमिरेट्स सदस्य छन् ।














प्रतिक्रिया दिनुहोस्