काठमाडौं, २६ साउन । सरकारले सुनसरी र सिरहा जिल्लामा भएका प्रदर्शन तथा झडपमा ज्यान गुमाउनुभएका चार जनालाई शहीद घोषणा गर्ने निर्णय गरेको छ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सुनसरीका ओमप्रकाश मेहता, जयप्रकाश मेहता र रविन्द्रकुमार मेहता तथा सिरहाका गणेशकुमार यादवलाई शहीद घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिनुभएको छ।
साउन १० गते साँझ सुनसरीको देवानगञ्ज गाउँपालिका–कप्तानगञ्जमा भएको झडपमा ओमप्रकाश मेहताको घटनास्थलमै तथा जयप्रकाश र रविन्द्रकुमारको उपचारका क्रममा मृत्यु भएको थियो।
सुनसरी घटनाको प्रभाव विभिन्न जिल्लामा फैलिएको तनावका क्रममा साउन ११ गते सिरहाको गोलबजारमा भएको झडपमा गणेशकुमार यादवको मृत्यु भएको थियो।
यसैगरी, सरकारले नेपालभित्र आयात वा उत्पादन हुने विद्युत्बाट सञ्चालित एम्बुलेन्स तथा शववाहनमा लाग्ने कर पूर्ण रूपमा छुट दिने निर्णय गरेको छ। एम्बुलेन्स र शववाहनमा स्वच्छ पूर्वाधार लगानी शुल्क तथा मूल्य अभिवृद्धि कर (भ्याट) पूर्ण रूपमा छुट दिने निर्णय भएको मन्त्री पोखरेलले जानकारी दिनुभएको छ।
मन्त्रिपरिषद् बैठकले पूर्वमहालेखा परीक्षक टंकमणि शर्मा दंगालको संयोजकत्वमा गठित एनसेलको शेयर खरिद–बिक्रीसम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन, २०८० सार्वजनिक गर्ने निर्णय पनि गरेको छ।
त्यस्तै, बैठकले वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकमा बाराका निर्मलकुमार उप्रेतीलाई नियुक्त गर्ने निर्णय गरेको छ।
सरकारले पोर्चुगल सरकारलाई काठमाडौंमा काउन्सिलर कार्यालय खोल्न सहमति दिने निर्णयसमेत गरेको मन्त्री पोखरेलले जानकारी दिनुभएको छ।














प्रतिक्रिया दिनुहोस्