जनता टाइम्स

२६ श्रावण २०८३, मंगलवार २१:२८

१७ वर्षीया किशोरीलाई आर्थिक प्रलोभनमा पारेर डिम्ब निकालिएको घटना संसद्मा उठ्यो


काठमाडौं, साउन २६ १७ वर्षीया किशोरीलाई आर्थिक प्रलोभनमा पारेर डिम्ब (ओभम) निकालिएको गम्भीर घटना मंगलबार प्रतिनिधिसभाको बैठकमा उठेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद स्मृति सेञ्चुरीले घटनाबारे सदनको ध्यानाकर्षण गराउँदै निष्पक्ष अनुसन्धान गरी दोषीलाई कडा कारबाही गर्न सरकारसँग माग गर्नुभएको छ।

सांसद सेञ्चुरीका अनुसार साउन १४ गते ती किशोरीलाई ३० हजार रुपैयाँ दिने प्रलोभन देखाएर राधिका गोतामे, प्राशन अधिकारी र डा. नुतन शर्मासहितको समूहले डिम्ब निष्कासन गराएको आरोप छ।

उहाँका अनुसार किशोरीको महिनावारी चक्र ट्र्याक गरी १० दिनसम्म हर्मोनल इन्जेक्सन दिइएको थियो। त्यसपछि डिम्ब निकालिएको र स्वास्थ्यमा समस्या देखिएपछि किशोरीलाई त्रिवि शिक्षण अस्पताल लगिएको थियो।

किशोरी बेहोस हुने, पेट तथा कम्मर दुख्ने र बान्ता हुने समस्याबाट पीडित भएपछि अस्पतालमा परीक्षण गर्दा डिम्ब निकालिएको पुष्टि भएको सांसद सेञ्चुरीले बताउनुभएको छ।

घटनासम्बन्धमा जिल्ला प्रहरी परिसर ललितपुरमा मानव बेचबिखन तथा ओसारपसार ऐनअन्तर्गत उजुरी दर्ता भए पनि आरोपीहरूलाई सामान्य जिम्मा जमानीमा छाडिएको उहाँको आरोप छ।

आरोपीहरूले पीडितलाई धम्की दिइरहेको दाबी गर्दै सांसद सेञ्चुरीले घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कडा कारबाही गर्न तथा पीडितलाई न्याय दिलाउन सरकारसँग माग गर्नुभएको छ।