जनता टाइम्स

२६ श्रावण २०८३, मंगलवार २१:४०

१२ दिनदेखि अनशनरत विनय यादवको जीवन रक्षा गर्न मानव अधिकार आयोगको आग्रह


काठमाडौं, साउन २६ सुनसरीको देवानगञ्ज घटनाको निष्पक्ष छानबिन, पीडितलाई न्याय तथा नेपाल सरकारसँग भएको सहमति कार्यान्वयनलगायतका माग राख्दै १२ दिनदेखि आमरण अनशनमा रहनुभएका विनय यादवको जीवन रक्षा गर्न राष्ट्रिय मानव अधिकार आयोगले सरकारसँग आग्रह गरेको छ।

आयोगले मंगलबार विज्ञप्ति जारी गर्दै यादवको स्वास्थ्य अवस्था तथा अनशनस्थलमा उपलब्ध स्वास्थ्य उपचारको अवस्थाबारे माइतीघर मण्डलामा पुगेर अनुगमन गरेको जनाएको छ।

अनुगमनका क्रममा यादवको रक्तचाप र सुगरको मात्रा घट्दै गएको तथा लामो समयको अनशनका कारण स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको पाइएको आयोगले जनाएको छ।

अनशन सुरु भएको १२ दिन बितिसक्दा पनि नेपाल सरकारका तर्फबाट यादवको स्वास्थ्य उपचार वा उहाँले उठाएका समस्या समाधानका लागि वार्ताको पहल नभएको आयोगको अनुगमनबाट देखिएको विज्ञप्तिमा उल्लेख छ।

आयोगले अनशनरत यादवको स्वास्थ्य अवस्थाप्रति संवेदनशील बन्न सरकारलाई आग्रह गर्दै प्रभावकारी स्वास्थ्य उपचारको व्यवस्था गरी उहाँको जीवन रक्षा गर्न अपिल गरेको छ।

त्यस्तै, यादवले उठाउनुभएका माग तथा समस्याको वार्तामार्फत समाधान खोज्न पनि आयोगले सरकारलाई आग्रह गरेको छ।