ललितपुर. साउन २७ । ललितपुरका विभिन्न पाँच स्थानमा चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोदावरी नगरपालिका–१४ ठैब बस्ने ३३ वर्षीय सुरज महर्जन रहेका छन् ।
प्रहरीका अनुसार ललितपुर महानगरपालिका–२८ हरिसिद्धीस्थित रिना महर्जनको घरकोठामा साउन २२ गते बिहान करिब ८ बजे चोरी भएको थियो । उक्त घटनाको अनुसन्धानका क्रममा प्रहरीले घटनास्थल तथा आसपासका क्षेत्रमा जडान गरिएका सीसीटीभी क्यामेराको फुटेजको समेत विश्लेषण गरी चोरीमा संलग्न व्यक्तिको खोजी गरेको थियो ।
खोजीका क्रममा प्रहरी वृत्त सातदोबाटोको टोलीले महर्जनलाई बा.९० प २७६४ नम्बरको मोटरसाइकलमा भाग्दै गरेको अवस्थामा पक्राउ गरेको हो ।
प्रहरीले उहाँको शरीर खानतलासी गर्दा ‘CAT’ लेखिएको कालो झोलाभित्र विभिन्न सुनचाँदीका गरगहनासहित नगद र अन्य सामग्री फेला पारेको जनाएको छ ।
उहाँको साथबाट सुनजस्तो देखिने धातुका नौगेडी, हार, विभिन्न प्रकारका झुम्का, औँठी, सिक्री, तिलहरी, चुरा तथा बाला लगायतका गरगहना बरामद गरिएको छ । त्यसैगरी चाँदीजस्तो देखिने औँठी, चाबी झुण्ड्याउने रिङ, हार, हनुमानको लकेटसहितको सिक्री, ब्रेसलेट र पाउजु पनि फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उहाँको साथबाट ह्वाइट गोल्ड तथा डायमण्डजस्तो देखिने दुईवटा औँठी, पुराना तथा नयाँ सिक्का र नगद ११ हजार ३९० रुपैयाँसमेत बरामद भएको छ । साथै ‘Bessie’ लेखिएको खैरो र ‘Baggit’ लेखिएको कालो लेडिज झोला पनि फेला परेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका महर्जनविरुद्ध चोरीसम्बन्धी कसुरमा ललितपुर जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय ललितपुरले जनाएको छ ।
बरामद गरिएका गरगहनाको वास्तविक प्रकृति तथा चोरीका अन्य घटनासँगको सम्बन्धबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।














प्रतिक्रिया दिनुहोस्