जनता टाइम्स

२८ श्रावण २०८३, बिहीबार ०८:०५

किशोर श्रेष्ठको घरमा मध्यराति प्रहरीको छापा, विद्युतीय उपकरण नियन्त्रणमा


काठमाडौं, साउन २८ । ‘जनआस्था’ साप्ताहिकका सम्पादक एवं प्रकाशक किशोर श्रेष्ठ पक्राउ परेपछि प्रहरीले उहाँको नख्खुस्थित निवासमा मध्यराति छापा मारेर ल्यापटप, कम्प्युटर तथा मोबाइल फोन नियन्त्रणमा लिएको छ ।

व्यक्तिगत गोपनीयता उल्लङ्घनसम्बन्धी मुद्दामा अदालतको अनुमति लिएर श्रेष्ठलाई बुधबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ । उहाँलाई हाल काठमाडौं प्रहरी परिसरको हिरासतमा राखिएको छ ।

श्रेष्ठ पक्राउ परेलगत्तै प्रहरीले उहाँको निवासमा पुगेर विद्युतीय उपकरण नियन्त्रणमा लिएपछि ललितपुरको ठाडोढुंगास्थित ‘जनआस्था’को कार्यालयमा समेत छापा मार्ने तयारी गरेको जनाइएको छ ।

प्रहरीको उक्त तयारीप्रति पत्रकार तथा सञ्चारकर्मीहरूले विरोध जनाएका छन् । विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरू प्रेस स्वतन्त्रता र व्यावसायिक अधिकारको रक्षाको माग गर्दै जनआस्थाको कार्यालय पुगेका छन् ।

समाचार प्रकाशनप्रति चित्त नबुझे स्थापित कानुनी प्रक्रिया तथा प्रेस काउन्सिलमार्फत समाधान खोज्नुपर्ने भन्दै पत्रकारसम्बद्ध संघसंस्थाहरूले सम्पादकलाई पक्राउ गरी मिडिया हाउसमा छापा मार्ने कार्यप्रति आपत्ति जनाएका छन् ।

नेपाल पत्रकार महासंघलगायत संस्थाहरूले घटनालाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप भन्दै पत्रकारलाई निर्भीक रूपमा काम गर्ने वातावरण सुनिश्चित गर्न सरकार र सुरक्षा निकायसँग माग गरेका छन् ।