जनता टाइम्स

२८ श्रावण २०८३, बिहीबार ०८:३२

पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची


काठमाडौं, साउन २८ संघीय संसद्अन्तर्गत आज पाँचवटा संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति, कृषि तथा प्राकृतिक स्रोत समिति, पूर्वाधार विकास समिति र महिला तथा सामाजिक विकास समितिको बैठक बस्न लागेको हो ।

अर्थ समितिको बैठक बिहान साढे ९ बजे बस्नेछ । बैठकमा उपसमितिका प्रतिवेदनमाथि छलफल हुनेछ ।

अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठक बिहान १० बजे बस्नेछ । बैठकमा ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१’मा परेका संशोधनमाथि संशोधनकर्ता सांसदहरूसँग छलफल गरिनेछ ।

कृषि तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा जैविक तथा प्राङ्गारिक मलको प्रयोगको अवस्था, माटोको स्वास्थ्य र दिगो कृषि विकासमा यसको सम्भाव्यताबारे छलफल हुनेछ ।

पूर्वाधार विकास समितिको बैठकमा खानेपानी आपूर्ति कार्ययोजनाको प्रतिवेदनमाथि छलफल हुनेछ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।

यस्तै, महिला तथा सामाजिक विकास समितिको बैठकमा राष्ट्रिय दलित आयोगको कामकारबाही तथा प्रगतिको विषयमा छलफल हुनेछ । बैठक पनि बिहान ११ बजे बस्नेछ ।