प्यूठान, साउन २८ । प्यूठानको स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा माडी र लुङ्ग्री खोलाको किनारमा बिहीबार चार जनाको शव फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीका अनुसार फेला परेका शवको पहिचान खुल्न सकेको छैन।
स्वर्गद्वारी नगरपालिका–९ जुडापाटास्थित माडी खोलाको किनारमा करिब १२/१३ वर्षीय बालकको शव फेला परेको छ। यस्तै, स्वर्गद्वारी–३ किमिचौरस्थित माडी खोलाको किनारमा कम्मरभन्दा माथिको भाग मात्र भएको पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ।
स्वर्गद्वारी–४ गोठीबाङमा पनि एक महिलाको शव फेला परेको छ। त्यस्तै, बिहान करिब ९ः३० बजे स्वर्गद्वारी–५ सरोजास्थित लुङ्ग्री खोलाको किनारमा टाउको र बायाँ खुट्टा नभएको अवस्थामा महिलाको शव फेला परेको प्रहरीले जनाएको छ।
शव फेला परेको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय भिङ्ग्री, प्रहरी चौकी लामाचौर र इलाका प्रहरी कार्यालय बिजुवारबाट प्रहरी टोली घटनास्थलमा खटिएको छ।
प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ। फेला परेका शवको पहिचान तथा मृत्युको कारण खुल्न बाँकी रहेको जनाइएको छ।













प्रतिक्रिया दिनुहोस्