काठमाडौं, साउन २८ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले नेपाली जनता र न्यायपालिकामाथि आफूलाई पूर्ण विश्वास रहेको बताउनुभएको छ।
बिहीबार स्वदेश फर्किएपछि चुनदेवीस्थित कांग्रेस संस्थापनइतर समूहको सम्पर्क कार्यालयमा नेता–कार्यकर्तालाई सम्बोधन गर्दै देउवाले जनता नै देशको मालिक भएको बताउनुभयो।
उहाँले संविधानसभाले गणतन्त्र ल्याएको उल्लेख गर्दै आफूले चाहेर गणतन्त्र आएको वा आफूले चाहेर जाने विषय नभएको बताउनुभयो।
‘नेपाली जनता सबैभन्दा ठूलो कुरा हो, नेपाली जनता नेपालको मालिक हो, यो मालिकले जे भन्यो त्यही हुन्छ,’ देउवाले भन्नुभयो।
देउवाले सर्वोच्च अदालतप्रति पनि आफूलाई पूर्ण विश्वास रहेको बताउनुभयो। उहाँले भन्नुभयो, ‘सर्वोच्च अदालत पञ्चायतकालदेखि नै निष्पक्ष न्याय दिएको अदालत हो, यो अदालतप्रति मलाई पूरा विश्वास छ।’ स्वदेश फर्किएसँगै देउवा कांग्रेसको आन्तरिक राजनीतिक गतिविधिमा सक्रिय हुने देखिएको छ। उहाँले आगामी दिनमा पनि आफू लडिरहने बताउनुभएको छ।













प्रतिक्रिया दिनुहोस्