जनता टाइम्स

२८ श्रावण २०८३, बिहीबार २०:१३

किशोर श्रेष्ठको पक्राउमा नेपाल बारको आपत्ति, निशर्त रिहाइको माग


काठमाडौं, साउन २८ । नेपाल बार एसोसिएसनले पत्रकार किशोर श्रेष्ठ पक्राउ परेको घटनाप्रति आपत्ति जनाउँदै उहाँलाई तत्काल र निशर्त रिहा गर्न माग गरेको छ ।

बारको मानव अधिकार तथा जनसरोकार समितिले बिहीबार विज्ञप्ति जारी गर्दै समाचारको विषयमा कुनै गुनासो भए प्रचलित कानुनी प्रक्रियाबाट समाधान खोजिनुपर्ने जनाएको हो ।

समाचार लेखेकै आधारमा सञ्चारकर्मीलाई पक्राउ गर्ने, सञ्चार गृहमा हस्तक्षेप गर्ने र परिवारका सदस्यलाई मानसिक यातना दिने कार्य आधुनिक लोकतान्त्रिक व्यवस्थामा स्वीकार्य नहुने समितिले जनाएको छ ।

नेपालको संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक र स्वतन्त्र पत्रकारिता लोकतन्त्रका महत्वपूर्ण आधार भएको उल्लेख गर्दै बारले यस्ता गतिविधिले लोकतान्त्रिक व्यवस्थालाई कमजोर बनाउने जनाएको छ ।

हिरासतमा रहेका श्रेष्ठलाई परिवारका सदस्य तथा कानुन व्यवसायीसँग भेट्न नदिएको विषयमा समेत बारले आपत्ति जनाएको छ । यस्तो कार्य संविधानप्रदत्त मौलिक हकविपरीत भएको भन्दै सम्बन्धित सुरक्षा निकायको ध्यानाकर्षण गराइएको छ ।

श्रेष्ठको पक्राउपछि सञ्चार क्षेत्रमा त्रासको वातावरण सिर्जना भएको भन्दै बारले त्यसको अन्त्य गर्न र नागरिकको सुसूचित हुने अधिकारमा कुनै पनि बहानामा अंकुश नलगाउन सरकारसँग आग्रह गरेको छ ।