काठमाडौं, साउन २८ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले वर्तमान वालेन्द्र शाह नेतृत्वको सरकारप्रति आक्रोश व्यक्त गर्नुभएको छ ।
लामो समयपछि स्वदेश फर्किनुभएका देउवालाई कांग्रेसको संस्थापन इतर समूहका नेता–कार्यकर्ताले र्यालीसहित चुनदेवीस्थित निवासमा पुर्याएका थिए ।
निवासमा पुगेपछि देउवाले आफूविरुद्ध सरकारले बदमासी गरिरहेको आरोप लगाउनुभयो । अन्तर्राष्ट्रिय संस्थाहरू र अदालतले पक्राउ गर्नुपर्ने आधार नरहेको बताइसक्दा पनि सरकारले आफूविरुद्ध कारबाही अघि बढाएको उहाँको भनाइ थियो ।
‘राजा ज्ञानेन्द्रले त सकेनन्, अरूले सक्छन् र? संविधानसभाको पहिलो बैठकले नेपालमा गणतन्त्र ल्याएको हो,’ देउवाले भन्नुभयो ।
उहाँले वर्तमान सरकारले गणतन्त्रमा बदमासी गरिरहेको आरोप लगाउँदै त्यसविरुद्ध अदालत र नेपाली जनता उभिने दाबी गर्नुभयो ।
‘यो देशमा जनता छन्, अदालत छ । हामीविरुद्ध बदमासी गर्नेलाई भोलि देखाउँछौँ,’ देउवाले भन्नुभयो ।
आफूविरुद्ध विभिन्न मुद्दा लगाउने प्रयास भइरहेको भन्दै देउवाले त्यसको जवाफ दिने चेतावनीसमेत दिनुभयो ।
गत भदौ २४ गते बूढानीलकण्ठस्थित निवासमा भएको आक्रमणमा घाइते भएपछि देउवा उपचारका लागि विदेश जानुभएको थियो । गत फागुनमा सिंगापुर पुग्नुभएका उहाँ त्यसपछि हङकङ हुँदै बिहीबार नेपाल फर्किनुभएको हो ।
देउवाले शुक्रबार कांग्रेसको संस्थापन इतर समूहले आयोजना गर्ने राष्ट्रिय भेलालाई सम्बोधन गर्ने कार्यक्रम छ ।













प्रतिक्रिया दिनुहोस्