जनता टाइम्स

२८ श्रावण २०८३, बिहीबार २०:३२

सातामा दुई दिन बिदा दिने व्यवस्था तत्काल नहट्ने, सरकार भन्छ– प्रभावकारी देखिएको छ


काठमाडौं, साउन २८ । सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने हालको व्यवस्था तत्काल पुनरावलोकन नगर्ने स्पष्ट पारेको छ ।

बिहीबार बसेको राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले अन्तर्राष्ट्रिय अभ्यास र आन्तरिक आवश्यकतालाई ध्यानमा राखेर दुई दिन बिदाको व्यवस्था लागू गरिएको बताउनुभयो ।

सांसद विष्णुबहादुर विश्वकर्माले सातामा दुई दिन बिदा दिने निर्णयले शिक्षा, व्यापार र सरकारी सेवामा असर परेको भन्दै निर्णय खारेज गरी सातामा एक दिन मात्रै बिदा दिने व्यवस्था गर्न माग गर्नुभएको थियो ।

जवाफमा मन्त्री गौतमले तत्कालीन समयमा इन्धन आपूर्तिमा देखिएको असहजताका कारण इन्धन खपत घटाउन तथा सार्वजनिक प्रशासनलाई थप परिणाममुखी बनाउन २०८२ चैत २३ गतेदेखि दुई दिन बिदाको व्यवस्था लागू गरिएको बताउनुभयो ।

उहाँका अनुसार कर्मचारीको कार्यजीवन सन्तुलन, ऊर्जा तथा प्रशासनिक खर्चमा मितव्ययिता र आन्तरिक पर्यटन प्रवर्द्धनका दृष्टिले यो व्यवस्था प्रभावकारी देखिएको छ ।

मन्त्री गौतमले बिहान ९ बजेदेखि कार्यालय सञ्चालन हुने व्यवस्थाले सेवाग्राहीलाई समेत सहज भएको र कर्मचारीको मनोबल तथा कार्यक्षमतामा सकारात्मक प्रभाव परेको सरकारको दाबी रहेको बताउनुभयो ।

हाललाई दुई दिन बिदाको व्यवस्था परिवर्तन गर्ने विषयमा कुनै गृहकार्य नभएको भन्दै उहाँले प्राप्त सुझावलाई भने सरकारले अध्ययनको विषय बनाउने स्पष्ट पार्नुभयो ।