जनता टाइम्स

२८ श्रावण २०८३, बिहीबार २०:४६

लेखा समितिको नोकझोकबारे सभामुखले देखाए चासो, लिए ब्रिफिङ


काठमाडौँ, २८ साउन । लेखा समिति बैठकमा भएको नोकझोकबारे सभामुख डीपी अर्यालले चासो देखाउनुभएको छ ।

बुधबार सार्वजनिक लेखा समितिको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनार र प्रहरी महानिरीक्षक दानबहादुर कार्कीबीच भएको सवाल–जवाफबारे सभामुख अर्यालले बिहीबार ब्रिफिङ लिनुभएको हो ।

सभामुखले सार्वजनिक लेखा समितिका सभापति भरतबहादुर खड्का, संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेय र लेखा समितिका सचिव बबिता मिश्रलाई बोलाएर घटनाबारे जानकारी लिनुभएको थियो ।

सभामुखले संसदीय समितिमा भएको घटनाबारे गम्भीर चासो व्यक्त गर्दै समितिको मर्यादा कायम राख्न सबै पक्षले ध्यान दिनुपर्ने बताउनुभएको छ ।

बुधबारको बैठकमा निर्वाचन प्रहरी पोसाक खरिदमा अनियमितता भएको भन्ने उजुरीमाथि छलफलका क्रममा सांसद सुनारले छानबिन समिति गठन गर्नुपर्ने र गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठ तथा प्रहरी महानिरीक्षक कार्कीले राजीनामा दिनुपर्ने माग गर्नुभएको थियो ।

जवाफमा प्रहरी महानिरीक्षक कार्कीले आफूहरूलाई बोलाएर जथाभावी बोलेको भन्दै साइबर ब्युरो र सीआईबीमा परेको उजुरी खोलिदिने चेतावनी दिनुभएको थियो । यसक्रममा समितिको बैठकमा केहीबेर नोकझोकसमेत भएको थियो ।