रोल्पा, साउन २८ । रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुगेको छ । प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले पहिरोमा परी १० जनाको मृत्यु भएको पुष्टि गर्नुभएको छ ।
मृतकमध्ये १८ वर्षीया शान्ति पुन मगर, ६० वर्षीय कमलबहादुर पुन मगर, ८० वर्षीया मनरखी पुन मगर, ७५ वर्षीय डलबहादुर पुन मगर र ८५ वर्षीया हस्तकला रोका मगरको पहिचान भएको छ ।
सुलिचौर नजिकैको लाम्पा खोला तथा प्यूठानको माडी नदीका विभिन्न स्थानबाट थप पाँच जनाको शव फेला परेको प्रहरीले जनाएको छ । तीमध्ये ३८ वर्षीया जुनकुमारी पुन, ९ वर्षीय अशिम पुन र ५ वर्षीय अशोक पुनको पहिचान भएको छ भने दुई जनाको पहिचान हुन बाँकी छ ।
पहिरोमा परी तीन जना अझै बेपत्ता छन् । उनीहरूको खोजी तथा उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी परिचालन भएका छन् ।
पहिरोमा घाइते भएका थबाङ–५ का २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय सञ्जय घर्ती मगरलाई थप उपचारका लागि प्रादेशिक अस्पताल बुटवल पठाइएको प्रहरीले जनाएको छ ।
पहिरोले नौ वटा घर, एउटा घुम्ती पसल, दुई वटा गोठ र एउटा चर्च गरी १३ वटा संरचना पुरेको छ ।
घटनालगत्तै इलाका प्रहरी कार्यालय उवाबाट प्रहरी टोली परिचालन गरी रातिदेखि नै खोजी तथा उद्धार कार्य सुरु गरिएको थियो । घटनास्थलमा प्रमुख जिल्ला अधिकारी क्षेत्री, प्रहरी प्रमुख डीएसपी पञ्चकुमार बाखु, नेपाली सेनाका कर्णेल दीपेश खड्का र सशस्त्र प्रहरीका डीएसपी कालीप्रसाद चौधरीसहितको टोली पुगेको थियो ।
बिहीबार लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआईजी भूपेन्द्रबहादुर खत्रीसहित स्वास्थ्यकर्मीको टोली पनि घटनास्थल पुगेको छ । बेपत्ताको खोजी तथा उद्धार कार्य जारी रहेको प्रमुख जिल्ला अधिकारी क्षेत्रीले बताउनुभएको छ ।













प्रतिक्रिया दिनुहोस्