जनता टाइम्स

२९ श्रावण २०८३, शुक्रबार ०७:३८

गएराति केही ठाउँमा मुसलधारे वर्षा, नदी खोला आसपासमा सावधानी अपनाउन आग्रह


काठमाडौं, साउन २९ । गएराति देशका विभिन्न ठाउँमा मुसलधारे वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो १२ घण्टामा स्याङ्जा, लमजुङ, कास्की र सिन्धुपाल्चोकमा निकै ठूलो वर्षा भएको छ ।

यस्तै गोरखा, बागलुङ, बाँके, बर्दिया, प्युठान, म्याग्दी, सुर्खेत र तनहुँलगायत जिल्लामा पनि ठूलो पानी परेको छ । भारी वर्षापछि केही स्थानमा भेलबाढी आएको छ ।

नुवाकोटको त्रिशूली नदी, प्युठानको लुंग्री नदी, कास्कीको मादी खोला र लमजुङको चेपे खोलामा बाढी आएकाले नदी तथा खोला आसपासका बासिन्दालाई सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

गोरखा, लमजुङ, तनहुँ, कास्की, स्याङ्जा, पर्वत, म्याग्दी, बागलुङ, रोल्पा र प्युठान तथा आसपासका जिल्लामा आज बिहानसम्म आकस्मिक बाढी र गेग्रान बहावको उच्च जोखिम रहेको महाशाखाले जनाएको छ ।

मध्य तथा पश्चिम नेपालका केही स्थानमा अहिले पनि वर्षा भइरहेको छ ।

आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली, पहाडी तथा तराईका थोरै स्थानमा मुसलधारे वर्षाको सम्भावना रहेको छ ।

यस्तै बागमती प्रदेशको पहाडी भूभाग तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा पनि मुसलधारे वर्षा हुनसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा बाढी, पहिरो र गेग्रान बहावको जोखिम रहेकाले नदी तथा खोला किनार र जोखिमयुक्त क्षेत्रमा आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।