जनता टाइम्स

२९ श्रावण २०८३, शुक्रबार ०७:४४

नेपाल–चीन सम्बन्ध सात दशकमा बृहत् साझेदारीमा विस्तार


काठमाडौं, २९ साउन । परराष्ट्रसचिव अमृतबहादुर राईले नेपाल एक चीन सिद्धान्तप्रति दृढ रहेको र नेपाली भूमिलाई चीनको हितविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता दोहोर्याउनुभएको छ ।

नेपाल–चीन कूटनीतिक सम्बन्धको ७१औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै सचिव राईले दुई देशबीचको सम्बन्ध पञ्चशीलका सिद्धान्त, असल छिमेकीपन, पारस्परिक सम्मान र सहकार्यमा आधारित रहेको बताउनुभयो ।

उहाँका अनुसार सात दशकको अवधिमा नेपाल–चीन सम्बन्ध परम्परागत मित्रता र सांस्कृतिक आदानप्रदानबाट साझा समृद्धिका लागि बृहत् साझेदारीमा विस्तार भएको छ ।

व्यापार, लगानी, पूर्वाधार, पर्यटन, शिक्षा, संस्कृति तथा जनस्तरको सम्बन्धमा उल्लेख्य विस्तार भएको भन्दै उहाँले ट्रान्स–हिमालयन बहुआयामिक सम्पर्क सञ्जालको शीघ्र कार्यान्वयनलाई नेपालले प्राथमिकता दिएको बताउनुभयो ।

कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले नेपाल र चीन असल छिमेकी, मित्र र साझेदारका रूपमा एकअर्कालाई सम्मान, विश्वास र समर्थन गर्दै आएको बताउनुभयो ।

उहाँले नेपालमा नयाँ सरकार गठन भएयता दुई देशबीचको राजनीतिक पारस्परिक विश्वास थप गहिरिएको र बेल्ट एन्ड रोड सहकार्य ठोस परिणामसहित अघि बढिरहेको दाबी गर्नुभयो ।

व्यापार, अर्थतन्त्र, पूर्वाधार, ऊर्जा, कृषि, शिक्षा, स्वास्थ्य र पर्यटनलगायत क्षेत्रमा सहकार्य विस्तार भइरहेको भन्दै राजदूत माओमिङले चिनियाँ पर्यटकको नेपाल आगमन पनि बढिरहेको बताउनुभयो ।

सन् २०१९ मा चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्धलाई विकास र समृद्धिका लागि दीर्घकालीन रणनीतिक साझेदारीको स्तरमा पुर्‍याएको उहाँले स्मरण गर्नुभयो ।

कार्यक्रममा नेपाल–चीनमैत्री लघु भिडियो प्रतियोगिताका विजेतालाई पुरस्कार तथा सम्मान गरिएको थियो । प्रतियोगितामा दिपेश स्याङ्दानले प्रथम हुँदै ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नुभयो ।