जनता टाइम्स

२९ श्रावण २०८३, शुक्रबार ०७:४७

सुदूरपश्चिममा खगराज भट्ट मुख्यमन्त्री बन्दै, आजै शपथ


काठमाडौं, साउन २९ । सुदूरपश्चिम प्रदेशमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का खगराज भट्ट मुख्यमन्त्री बन्ने भएका छन् ।

मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएपछि प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८ को उपधारा २ बमोजिम नयाँ सरकार गठनका लागि शुक्रबार बिहान ११ बजेसम्म दाबी पेस गर्न आह्वान गरेका छन् ।

नेकपा नेता भट्टले नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री पदका लागि दाबी पेस गर्ने तयारी गरेका छन् । दाबी पेस गरेपछि प्रदेश प्रमुखले भट्टलाई मुख्यमन्त्रीमा नियुक्त गर्नेछन् ।

भट्टको शपथ ग्रहण शुक्रबार दिउँसो ३ बजे गर्ने तयारी गरिएको छ । मुख्यमन्त्री बनेलगत्तै भट्टले सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने सम्भावना रहेको नेताहरूले बताएका छन् ।

नेकपा र एमालेबीच मन्त्रालय बाँडफाँटसमेत टुंगिएको छ । जसअनुसार नेकपाले मुख्यमन्त्रीसहित चार मन्त्रालय र एमालेले तीन मन्त्रालय पाउने सहमति भएको बताइएको छ ।

एमालेले आर्थिक मामिला, सामाजिक विकास र वन वा कृषिमध्ये एक मन्त्रालयको नेतृत्व गर्ने तयारी गरेको छ ।

यसअघि असार ३१ गते एमालेले बजेटमा असहमति जनाउँदै मुख्यमन्त्री शाह नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि सुदूरपश्चिममा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको हो ।

मुख्यमन्त्री शाहले बिहीबार प्रदेशसभामा सम्बोधन गर्दै पदबाट राजीनामा घोषणा गर्नुभएको थियो । त्यसलगत्तै प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाएपछि नयाँ सरकार गठनका लागि आह्वान गरिएको हो ।