जनता टाइम्स

२९ श्रावण २०८३, शुक्रबार ०७:५३

बाजुरामा पहिरोले पुरिएर २ घाइते, १ बेपत्ता


काठमाडौं, साउन २९ । अविरल वर्षासँगै आएको पहिरोले बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा दुई घरमा क्षति पुर्‍याएको छ । पहिरोमा परेर दुई जना सामान्य घाइते हुनुभएको छ भने एक जना बेपत्ता हुनुभएको छ ।

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार साउन २८ गते बेलुकीदेखि लगातार परेको वर्षाका कारण ताम्सुमा पहिरो गएको हो । स्थानीय टेकबहादुर थापाले राति प्रहरीलाई घटनाबारे जानकारी गराउनुभएको थियो ।

घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी बडीमालिकाबाट प्रहरी सहायक निरीक्षक रामबहादुर चन्दको नेतृत्वमा चार जनाको टोली घटनास्थलतर्फ खटिएको थियो । तर ताम्सु खोलामा पानीको बहाव अत्यधिक बढेका कारण प्रहरी टोली तत्काल घटनास्थल पुग्न सकेन ।

स्थानीयका अनुसार ३९ वर्षीय धर्म थापा र ४३ वर्षीय कर्णबहादुर थापाको घर पहिरोले क्षतिग्रस्त भएको छ । पहिरोमा परेर दुई जना सामान्य घाइते हुनुभएको र एक जना बेपत्ता हुनुभएको प्रहरीले जनाएको छ ।

उद्धार तथा खोजीका लागि प्रहरी चौकी बार्जुगाड र अस्थायी प्रहरी वेश क्याम्पबाट थप प्रहरी टोली परिचालन गरिएको छ । यस्तै, जिल्ला प्रहरी कार्यालय बाजुराबाट प्रहरी नायब उपरीक्षक शैलेश्वरी बोहराको नेतृत्वमा १७ जनाको टोली आवश्यक उद्धार सामग्रीसहित घटनास्थलतर्फ खटिएको छ ।

लगातारको वर्षा र खोलामा बढेको पानीका कारण उद्धार तथा खोजी कार्यमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ । सुरक्षा निकायले बेपत्ता व्यक्तिको खोजीलाई तीव्र बनाउँदै स्थानीयवासीलाई जोखिमयुक्त स्थानमा नबस्न र सतर्क रहन आग्रह गरेको छ ।