जनता टाइम्स

२९ श्रावण २०८३, शुक्रबार ०८:१३

सामाजिक सञ्जालबाट आईजीपी कार्कीलाई खगेन्द्र सुनारको जवाफ


काठमाडौं, साउन २९। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई सामाजिक सञ्जालमार्फत जवाफ दिनुभएको छ।

सार्वजनिक लेखा समितिको बुधबारको बैठकमा भ्रष्टाचारको आरोप लागेकाले आईजीपी कार्कीलाई तत्काल निलम्बन गरी छानबिन गर्नुपर्ने धारणा राखेपछि कार्कीले सुनारलाई ‘पाषाणयुगीन सोच भएका शासक’को संज्ञा दिनुभएको थियो।

कार्कीले आफूविरुद्ध बिना प्रमाण आरोप लगाइएको भन्दै आरोप प्रमाणित गर्न चुनौती दिनुभएको थियो। त्यसपछि सुनारले लेखा समितिको बैठक बहिष्कार गरेर बाहिरिनुभएको थियो। उहाँको उक्त कदमको अन्य दलका सांसदसँगै रास्वपाकै सांसद गोविन्द पन्थीलगायतले आलोचना गरेका थिए।

सुनारले सामाजिक सञ्जालमार्फत जवाफ दिँदै गम्भीर आरोप लागेका व्यक्तिले बयान दिनुपर्ने तर प्रवचन दिन नहुने बताउनुभएको छ।

उहाँले प्रहरीका सिपाही, हवलदार र म्यादी प्रहरीको पक्षमा आफू सधैँ उभिने दाबी गर्दै उनीहरूको जुत्ता, मोजा, रासनलगायत विषयमा गम्भीर अनियमितताको आरोप लागेको बताउनुभएको छ।

राज्यमा एक हजार अर्ब रुपैयाँभन्दा बढी बेरुजु रहेको दाबी गर्दै सुनारले भ्रष्टाचार, घोटाला र अनियमितताका विषय सार्वजनिक लेखा समितिमा उठाइरहने बताउनुभएको छ।

उहाँले भन्नुभएको छ, ‘हिजोको मुद्दा बर्दी र फुली देखाएर धम्काउँदैमा सकिने विषय हैन।’

बुधबारको विवादित अभिव्यक्तिपछि रास्वपाका नेता तथा सांसद र सभामुखले समेत सुनारलाई यस्ता विषयमा संयमित भएर बोल्न सुझाव दिनुभएको थियो।