जनता टाइम्स

२९ श्रावण २०८३, शुक्रबार ०८:१६

रास्वपा सांसद सिंहको प्रश्न– सेना, प्रहरी र कर्मचारीको हुर्मत लिने काम भइरहेको छ, राज्यलाई अझै पछाडि धकेल्ने हो ?


काठमाडौं, साउन २९ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेशकुमार सिंहले सरकारको कार्यशैलीप्रति प्रश्न उठाउँदै सार्वजनिक संस्था तथा सरकारी निकायमाथि हस्तक्षेप भइरहेको आरोप लगाउनुभएको छ।

सिंहले बिहीबार राति सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै सेना, प्रहरी र कर्मचारीको हुर्मत लिने काम भइरहेको भन्दै सरकारको कार्यशैलीमाथि प्रश्न उठाउनुभएको हो।

उहाँले संसद्मा सांसदहरूले दिने अभिव्यक्तिप्रति समेत असन्तुष्टि जनाउँदै यस्ता अभिव्यक्तिले संसद्कै बेइज्जती हुने टिप्पणी गर्नुभएको छ।

बुधबारको सार्वजनिक लेखा समितिको बैठकमा रास्वपा सांसद खगेन्द्र सुनारले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलगायतमाथि दिएको अभिव्यक्तितर्फ संकेत गर्दै सिंहले यस्तो टिप्पणी गर्नुभएको हो।

व्यवसायीहरूको धरपकडप्रति समेत सिंहले आपत्ति जनाउनुभएको छ। व्यापारीहरूको धरपकडका कारण व्यवसायीहरू त्रसित बनेको उहाँको दाबी छ।

त्यस्तै, सिंहले सरकारको परराष्ट्र नीतिमाथि समेत प्रश्न उठाउनुभएको छ। नेपालको परराष्ट्र नीतिप्रति विश्वासको संकट अर्थात् ‘ट्रस्ट डेफिसिट’ देखिएको उहाँको टिप्पणी छ।

सरकारको समृद्धि र सुशासनको रोडम्यापमाथि प्रश्न गर्दै सिंहले अहिले भइरहेका गतिविधिले मुलुकलाई थप पछाडि धकेल्ने काम भइरहेको हो कि भन्ने प्रश्न गर्नुभएको छ।

उहाँले प्रश्न गर्नुभएको छ, ‘के समृद्धि र सुशासनको रोडम्याप यही हो ? कि राज्यलाई अझै पछाडि धकेल्ने काम भइरहेको छ ? सोच्ने बेला भएको छैन ?’