जनता टाइम्स

२९ श्रावण २०८३, शुक्रबार ०८:३८

सप्तरीबाट हराएका २० जनाको सकुशल उद्धार, ६ जना अझै बेपत्ता


सप्तरी, साउन २९ जिल्ला प्रहरी कार्यालय सप्तरीले जिल्लाका विभिन्न पालिकाबाट हराएका २६ जनामध्ये २० जनालाई सकुशल फेला पारेको छ ।

प्रहरीले साउन १ गतेदेखि २३ गतेसम्म परेको निवेदनका आधारमा खोजी गर्दा २० जनालाई फेला पारेको हो । हराएका मध्ये छ जनाको अवस्था भने अझै अज्ञात रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको मासिक प्रगति विवरणअनुसार उक्त अवधिमा जिल्लाका विभिन्न स्थानबाट १२ जना महिला, १२ जना बालिका, एक जना बालक र एक जना पुरुष गरी २६ जना हराएका थिए ।

फेला पारिएकामा १० जना महिला, आठ जना बालिका, एक जना बालक र एक जना पुरुष रहेका छन् । उद्धार गरिएका अधिकांशलाई सीमावर्ती भारतीय बजार क्षेत्रबाट सकुशल फेला पारिएको प्रहरी नायब उपरीक्षक घिमिरेले बताउनुभयो ।

अझै बेपत्ता रहेका दुई जना महिला र चार जना बालिकाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रूपेश खड्काले बेपत्ता छ जनाको अवस्था पत्ता लगाउन प्रहरी टोली सक्रिय रूपमा परिचालित रहेको बताउनुभयो ।

उहाँका अनुसार जिल्ला प्रहरी र मातहतका प्रहरी कार्यालयका साथै सीमावर्ती भारतीय सुरक्षा अधिकारीहरूसँग आवश्यक समन्वय गरी बेपत्ताको खोजी तीव्र पारिएको छ ।