जनता टाइम्स

२९ श्रावण २०८३, शुक्रबार ०८:४४

जाजरकोटमा बाढीले चार घर र एउटा झोलुङ्गे पुल बगायो


काठमाडौं, साउन २९ । जाजरकोटको नलगाड नगरपालिका–११ चौखास्थित ताक्सुगाड खोलामा आएको बाढीले चार वटा घर र एउटा झोलुङ्गे पुल बगाएको छ ।

अविरल वर्षापछि आएको बाढीले घर तथा पुल बगाएको प्रहरीले जनाएको छ । घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

बाढीका कारण भेरी करिडोर सडकखण्डसमेत जोखिममा परेको छ । निरन्तर वर्षा भइरहेकाले खोलाको बहाव थप बढ्न सक्ने र आसपासका क्षेत्रमा जोखिम बढ्न सक्ने स्थानीयले बताएका छन् ।

स्थानीय क्षेत्रमा सम्भावित क्षति रोक्न तथा जोखिमयुक्त स्थानमा आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।