बागलुङ, साउन २९ । अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण बागलुङका दुई राष्ट्रिय राजमार्ग अवरुद्ध भएका छन् ।
कालीगण्डकी करिडोरको बागलुङ खण्ड र मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड आज बिहानैदेखि अवरुद्ध भएका जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
बागलुङ नगरपालिका–१३ स्थित कालाखोला बगरमा पहिरो खसेपछि कालीगण्डकी करिडोर अवरुद्ध भएको हो ।
त्यस्तै, मध्यपहाडी लोकमार्गअन्तर्गत बुर्तिवाङ–निसीखोला सडकखण्डको निसीखोला गाउँपालिका–४ कानाबजार नजिक ठाडाखोलामा बाढी आएपछि सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
अवरुद्ध दुवै सडक खुलाउन सडक डिभिजन कार्यालय, मध्यपहाडी लोकमार्ग आयोजना र कालीगण्डकी करिडोर कार्यालयसँग समन्वय भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिनुभएको छ ।
सडक अवरुद्ध भएपछि विभिन्न स्थानमा यात्रु तथा सवारीसाधन बाटोमै रोकिएका छन् ।













प्रतिक्रिया दिनुहोस्