जनता टाइम्स

२९ श्रावण २०८३, शुक्रबार ११:२१

बाजुरा पहिरो : बेपत्ता र घाइतेको पहिचान खुल्यो


बाजुरा साउन , २९ बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा पहिरोमा परी बेपत्ता भएकी र घाइते भएकाहरूको पहिचान खुलेको छ ।

पहिरोमा परी त्रिवेणी नगरपालिका–९ की २० वर्षीया प्रतीक्षा थापा बेपत्ता भएकी जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

पहिरोमा परेर स्थानीय धर्म थापा र धौलीदेवी रावल घाइते भएका छन् । थापाको बायाँ खुट्टा र शरीरमा चोट लागेको छ भने रावलको टाउको, खुट्टा र शरीरमा चोट लागेको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी नरेशबहादुर शाहीले जानकारी दिनुभएको छ ।

घाइते दुवै जनालाई उपचारका लागि जिल्ला अस्पताल मार्तडी ल्याइएको उहाँले बताउनुभयो ।

अविरल वर्षापछि खसेको पहिरोले स्थानीय धर्म थापा र कर्णबहादुर थापाको घर पूर्ण रूपमा क्षति भएको छ ।

बेपत्ता प्रतीक्षाको खोजीका लागि प्रहरी नायब उपरीक्षक शैलेश्वरी बोहराको नेतृत्वमा टोली परिचालन गरिएको छ । खोजी तथा उद्धार कार्यमा सशस्त्र प्रहरी बल, नेपाली सेना र स्थानीयवासीसमेत खटिएका छन् ।