काठमाडौं, साउन २९ । हिमालयन बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विवरण अनुसार बैंकको खुद नाफामा अघिल्लो वर्षको तुलनामा सुधार आएको छ ।
बैंकको बिवरणअनुसार असार मसान्तसम्ममा बैंक १ अर्ब ४८ करोड ३ लाख ८५ हजार रुपैयाँ खुद नाफामा रहेको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा सो बैंकले १२ करोड ९७ लाख २६ हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो ।
बैंकको वित्तीय विवरण अनुसार निष्क्रिय कर्जा ७.९६ प्रतिशत कायम छ । अघिल्लो वर्ष निष्क्रिय कर्जा ७.९७ प्रतिशत रहेको थियो । निष्क्रिय कर्जा उच्च नै रहेका कारण बैंकले सम्भावित जोखिम व्यवस्थापन (नोक्सानी व्यवस्था) का लागि २ अर्ब ८९ करोड ६४ लाख रुपैयाँ छुट्याउनु परेको छ, जसले नाफालाई कम बनाउन भूमिका खेलेको छ ।
बिवरणअनुसार हिमालयन बैंकको सञ्चित नोक्सानी (रिटेन्ड लस) ९ अर्ब ८४ करोड १ लाख ४९ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षसम्म यस्तो नोक्सानी ८ अर्ब ८५ करोड ४२ लाख रुपैयाँ थियो ।
बैंकको खुद ब्याज आम्दानीमा भने अघिल्लो वर्षको तुलनामा गिरावट आएको छ । अघिल्लो वर्ष १० अर्ब ४२ करोड ५० लाख रुपैयाँ रहेको खुद ब्याज आम्दानी गत वर्ष घटेर ८ अर्ब ८१ करोड १ लाख रुपैयाँमा सीमित भएको छ ।
यस्तै खुद फि तथा कमिसन आम्दानी पनि घटेर १ अर्ब १६ करोड २१ लाख रुपैयाँ छ । अघिल्लो आवमा ३ अर्ब ७५ करोड ६० लाख रुपैयाँ प्रोभिजन गरेको बैंकले गत आवमा २ अर्ब ८९ करोड ६४ लाख रुपैयाँ प्रोभिजन थप्नु परेको छ ।
बैंकको नाफामा वृद्धि भएसँगै प्रतिशेयर आम्दानीमा पनि सुधार देखिएको छ । गत वर्ष ०.६० रुपैयाँ रहेको प्रतिसेयर आम्दानी यो वर्ष ६.५६ रुपैयाँ कायम भएको छ ।
बैंकको प्रतिशेयर नेटवर्थ १७७.४८ रुपैयाँ कायम हुँदा बैंकको आधार दरमा गिरावट आएको छ । गत वर्ष ६.६३ प्रतिशत रहेको आधार दर यो वर्ष ५.३१ प्रतिशतमा झरेको छ । त्यस्तै, स्प्रेड दर ३.२९ प्रतिशतबाट घटेर २.८३ प्रतिशतमा खुम्चिएको छ ।
हिमालयन बैंकको नाफा बढदा प्रतिशेयर आम्दानीमा पनि सुधार आएको छ । बैंकले सार्वजनिक गरेको अघिल्लो आर्थिक बर्षको विवरणले यस्तो सुधार देखिएको हो

पुँजी कोष पनि १०.६० प्रतिशतबाट बढेर ११.६९ प्रतिशत पुगेको छ । प्राथमिक पुँजी ८ प्रतिशतभन्दा मुनि झरेर ७.६९ प्रतिशतमा सीमित छ । यस्तै सीडी रेसियो ८१.३५ प्रतिशतबाट घटेर ७२.७४ प्रतिशतमा आएको छ, जसले बैंकसँग लगानीका लागि पर्याप्त रकम रहेको छ भने कस्ट अफ फन्ड पनि ४.८४ प्रतिशतबाट घटेर ३.६३ प्रतिशतमा झरेको छ ।
बैंकले चौथो त्रैमासमा २२ करोड ८८ लाख रुपैयाँ प्रोभिजन राइट ब्याक (फिर्ता) गरेको देखिन्छ । बैंकको बक्यौता ब्याज र अन्य व्यवस्थापनपछि वितरणयोग्य नाफा ९ अर्ब ८४ करोड ऋणात्मक (नोक्सानी) रहेको छ ।
गत आवमा बैंकले निक्षेप संकलनमा वृद्धि गर्दै ३ खर्ब ५१ अर्ब ५७ करोड रुपैयाँ पुर्याउँदा कर्जा प्रवाह सामान्य बढेर २ खर्ब ३० अर्ब ६३ करोड रुपैयाँ पुगेको छ ।













प्रतिक्रिया दिनुहोस्