जनता टाइम्स

२९ श्रावण २०८३, शुक्रबार १८:२९

टेलिकमको जीएसएम पोस्टपेड अब अनलाइनबाटै नामसारी, यस्तो छ ब्यवस्था


काठमाडौं, साउन २९ । नेपाल टेलिकमको जीएसएम पोस्टपेड मोबाइलका ग्राहकहरुले अब नामसारी गर्नका लागि आवश्यक सम्पूर्ण विवरण अनलाइनमार्फत भर्न सकिने भएको छ ।

टेलिकमका प्रवक्ता डा.कमल लामिछाने शुक्रवार बिज्ञप्तिमार्फत यस्तो जानकारी दिनुभएको हो । बिज्ञप्तिमा जनाइएअनुसार कुनै एक व्यक्तिको नाममा भएको पोस्टपेड सिमकार्ड अर्को व्यक्तिको नाममा नामसारी गर्नका लागि आवश्यक सम्पूर्ण विवरण भरेर अन्त्यमा नामसारी दस्तुर उपलब्ध गराउन र आवश्यक प्रमाणीकरणका लागि मात्र नजिकको दूरसञ्चार कार्यालयमा उपस्थित हुनुपर्नेछ ।

यस अनुसार ग्राहकहरुले कस्टमर लगइन पोर्टल https://kyc.ntc.net.np मार्फत आवश्यक विवरण भर्न सक्ने टेलिकमले जनाएको छ । उक्त पोर्टल लगइन गरेर मोबाइल नम्बर राखे पश्चात ओटीपी प्राप्त हुनेछ र त्यसपछि हालको ग्राहक र नामसारी गर्नुपर्ने नयाँ ग्राहकको व्यक्तिगत विवरणहरु उपलब्ध गराउनु पर्नेछ । यसका साथै गत एक महिनाको अवधिमा कल गरिएका ५ वटा मोबाइल नम्बर समेत राख्नु पर्छ ।

सबै विवरण भरिसके पश्चात प्रमाणीकरणका लागि नजिकको नेपाल टेलिकमको कार्यालय वा ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्नु पर्छ । नामसारीका लागि आवश्यक दस्तुर तिरेर र सक्कल नागरिकताका साथ आफू वा प्रतिनिधिमार्फत नामसारीका लागि अन्तिम प्रमाणीकरण गर्न सकिने छ ।

यसबाट अनलाइन रुपमा पहिले नै आवश्यक विवरण भरेर पोस्टपेड सिम नामसारी गर्न सहज हुनेछ । कार्यालयमा उपस्थित हुन नसक्ने सेवाग्राहीहरुले प्रतिनिधिमार्फत अन्तिम प्रमाणीकरण गर्न समेत सकिने भएकोले नामसारी कार्य थप सहज हुने अपेक्षा गरिएको टेलिकमको भनाई छ ।

हाललाई अनलाइन नामसारी कार्य व्यक्तिगत ग्राहकका लागि मात्र उपलब्ध छ । कर्पोरेट ग्राहकहरुले भने नामसारीका लागि कार्यालयमै उपस्थित हुनु पर्ने टेलिकमले जनाएको छ ।