काठमाडौं, साउन ३०। जिल्ला प्रशासन कार्यालयले म्याग्दीका मुख्य दुई सडकमा रातिको समयमा यातायात सञ्चालनमा रोक लगाएको छ।
बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्ड र बेनी–दरवाङ सडकमा शुक्रबार साँझ ५ बजेदेखि शनिबार बिहान ७ बजेसम्म यातायात सञ्चालन बन्द गरिएको प्रशासनले जनाएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त मौसम पूर्वानुमानअनुसार म्याग्दीमा शुक्रबार राति भारी वर्षाको सम्भावना रहेकाले सम्भावित जोखिमलाई मध्यनजर गर्दै सवारी आवागमन बन्द गरिएको प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले बताउनुभयो।
स्तरोन्नतिको क्रममा रहेका बेनी–जोमसोम र बेनी–दरवाङ सडकमा पहिरो खस्ने तथा नदी कटानको जोखिम रहेकाले रातिको समयमा यातायात सञ्चालन गर्दा दुर्घटनाको जोखिम हुने उहाँले बताउनुभयो।
बेनी–जोमसोम सडक म्याग्दीको सदरमुकाम बेनीदेखि रघुगङ्गा र अन्नपूर्ण गाउँपालिका हुँदै मुस्ताङ जोड्ने प्रमुख स्थलमार्ग हो। बेनी–दरवाङ सडकले धवलागिरी, मालिका र मङ्गला गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्छ।













प्रतिक्रिया दिनुहोस्