जनता टाइम्स

३० श्रावण २०८३, शनिबार ०८:३५

बाढीपहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध


काठमाडौं, साउन ३० अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढीपहिरो जाँदा प्रमुख राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन्। प्रहरीले विभिन्न जिल्लाका सडकमा सवारी आवागमन प्रभावित भएको जनाएको छ।

इलाम नगरपालिका–९ राजदुवालीमा हिलो खसेपछि मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। प्रहरीले उक्त स्थानमा वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ चारकिलो पहिरो लिपिङमा सडक भासिएपछि अरनिको राजमार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको छ। रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा सडक कटान हुँदा त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडकखण्ड अवरुद्ध भएको छ।

यस्तै, रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ रिजेगार्ड खोला नजिक पहिरो जाँदा भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडक अवरुद्ध भएको छ। रुकुम पूर्वको भूमे गाउँपालिका–४ काडाबगर र धौलापहिरामा पहिरो खस्दा मध्यपहाडी लोकमार्गसमेत अवरुद्ध भएको प्रहरीले जनाएको छ।

रोल्पाको थबाङ गाउँपालिका–२ लाप्लेभिर र दबाङमा भूक्षय भएपछि घोराही–थबाङ सहिद मार्गका दुई स्थानमा पनि आवागमन रोकिएको छ।

अवरुद्ध सडक खुलाउन सम्बन्धित निकाय तथा स्थानीय तहसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ।

यसैबीच, सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै बीपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।

मकवानपुरको कान्ति लोकपथमा पनि वर्षाका कारण अपराह्न ५ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधनको आवागमन रोकिएको छ।