जनता टाइम्स

३० श्रावण २०८३, शनिबार ०८:४६

देशभर मनसुन सक्रिय, केही प्रदेशमा भारी वर्षाको सम्भावना


काठमाडौं, साउन ३० देशभर मनसुन सक्रिय रहेकाले आज विभिन्न प्रदेशमा मेघगर्जन र चट्याङसहित मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थान आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तरतर्फ नेपालनजिक रहेको छ।

अहिले कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेश तथा गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भागमा साधारणतया बदली रहेको छ। मधेस प्रदेश तथा गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहेको छ।

कोशी, बागमती र लुम्बिनीका केही स्थान, कर्णाली र सुदूरपश्चिमका केही स्थान तथा गण्डकी प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। हिमाली तथा पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। तराईका विभिन्न क्षेत्रमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने जनाइएको छ।

बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भाग तथा लुम्बिनी प्रदेशका पहाडी र तराई क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

आज राति पनि हिमाली तथा पहाडी भागमा साधारणतया बदली रहनेछ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई भागका केही स्थान तथा मधेससहित कोशी र बागमतीका तराई भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।

बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एक–दुई स्थानमा राति पनि भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।