झापा, साउन ३० । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रतिनिधिसभा निर्वाचनपछि पहिलो पटक आफ्नो गृहजिल्ला झापा पुग्नुभएको छ।
शनिबार चन्द्रगढी विमानस्थलमा पुग्नुभएका अध्यक्ष ओलीलाई एमालेका नेता–कार्यकर्ता, शुभेच्छुक तथा स्थानीयले स्वागत गर्नुभएको थियो। विमानस्थलमा सञ्चारकर्मीहरूसँग भने उहाँले कुनै प्रतिक्रिया दिनुभएन।
राजनीतिक तथा सांगठनिक कार्यक्रमका लागि झापा पुग्नुभएका अध्यक्ष ओली स्वागतलगत्तै इलामको फिक्कलतर्फ लाग्नुभएको छ। एमाले प्रदेश अध्यक्ष घनश्याम खतिवडाका अनुसार अध्यक्ष ओलीले शनिबार फिक्कलमा आयोजित आदिवासी जनजाति महासंघको केन्द्रीय कमिटी बैठकलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
त्यसपछि उहाँ इलाम बजार पुगेर जिल्लाका अगुवा कार्यकर्तासँग भेटघाट तथा छलफलमा सहभागी हुने कार्यक्रम छ।
आइतबार ‘पार्टी जागरण अभियान’ उद्घाटन
अध्यक्ष ओली आइतबार बिहान झापा फर्किने कार्यक्रम रहेको एमालेले जनाएको छ। उहाँले बिर्तामोडमा सुरु हुने एमाले झापा जिल्ला कमिटीको ‘पार्टी जागरण अभियान’ उद्घाटन गर्नुहुनेछ।
अभियान उद्घाटन समारोहलाई सम्बोधन गरेपछि अध्यक्ष ओली आइतबार अपराह्न ४ बजे काठमाडौं फर्किने तालिका रहेको छ।













प्रतिक्रिया दिनुहोस्