जनता टाइम्स

३० श्रावण २०८३, शनिबार १६:४५

झरीमा रुझ्दै ग्याँस लिन लाइनमा उपभोक्ता


काठमाडौं, साउन ३० खाना पकाउने एलपी ग्याँसको अभाव भएपछि नेपाल आयल निगमले काठमाडौं उपत्यकाका पाँच स्थानबाट विशेष बिक्री वितरण सुरु गरेको छ।

अत्यावश्यक अवस्थामा रहेका उपभोक्तालाई लक्षित गरी जिल्ला प्रशासन कार्यालय काठमाडौं र निगमको समन्वयमा विभिन्न ग्याँस उद्योगमार्फत बिक्री वितरण गरिएको हो।

ग्याँस लिन उपभोक्ताको अत्यधिक भिड भएपछि वितरणस्थलमा व्यवस्थापन चुनौतीपूर्ण बनेको छ। काठमाडौंको टेकुमा ग्याँस लिन पुगेका उपभोक्ता वर्षाका कारण झरीमा रुझ्दै लामो लाइनमा बस्न बाध्य भएका छन्।

निगमले बिहान १० बजेदेखि साँझ ६ बजेसम्म ग्याँस बिक्री गर्ने व्यवस्था मिलाएको छ। ग्याँस खरिदका लागि उपभोक्ताले अनिवार्य रूपमा नागरिकता वा राष्ट्रिय परिचयपत्र साथमा लैजानुपर्ने व्यवस्था गरिएको छ।

निगमका अनुसार एलपी ग्याँसको आयात नियमित भइरहेको छ र सम्बन्धित उद्योगहरूले आफ्ना डिलरमार्फत नियमित बिक्री वितरण गरिरहेका छन्। विशेष बिक्री व्यवस्था भने ग्याँस सकिएर अत्यावश्यक अवस्थामा पुगेका उपभोक्तालाई तत्काल राहत दिन गरिएको निगमले जनाएको छ।