जनता टाइम्स

३० श्रावण २०८३, शनिबार १६:४९

पोखराको विजयपुर खोलाले बगाउँदा दुई बालक बेपत्ता


पोखरा , ३० साउन। पोखराको विजयपुर खोलाले बगाउँदा दुई बालक बेपत्ता भएका छन्। पोखरा महानगरपालिका–२६ र १४ को सीमास्थित सक्नेरीमा खोला तर्ने क्रममा उनीहरूलाई खोलाले बगाएको हो।

कास्की प्रहरीका अनुसार बेपत्ता हुनेमा स्याङ्जा घर भई पोखरा बस्दै आएका १४ वर्षीय निक्सन राई र १५ वर्षीय अमन राई रहेका छन्।

उनीहरू पोखरा–२६ सक्नेरीस्थित भगवती हाइड्रोपावर नजिकबाट पोखरा–१४ बिजयबस्ती जाने क्रममा विजयपुर खोला तर्न खोज्दा बगेका हुन्। स्थानीयले उनीहरूलाई खोलाले बगाएको देखेपछि प्रहरीलाई खबर गरेका थिए।

कास्की प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानका अनुसार जनपद प्रहरी, सशस्त्र प्रहरी र गोताखोरसहितको टोलीले बेपत्ता बालकहरूको खोजी गरिरहेको छ। स्थानीयवासीको सहयोगमा समेत खोजी कार्य जारी राखिएको छ।

खोलामा पानीको बहाव बढेकाले खोजी कार्यमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ। निक्सनको परिवार प्रहरीको सम्पर्कमा आइसकेको छ भने अमनको परिवारसँग सम्पर्क गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

विजयपुर खोला सक्नेरी हुँदै पोखरा–२७ को मोरेखरे पुगेर सेती नदीमा मिसिन्छ।